पैसा दिएर टीआरपी बढाएकाे आराेपमा ३ भारतीय च्यानलविरुद्ध जाँच भइरहेकाे छ : मुम्बई प्रहरी

Mumbai police

एजेन्सी– मुम्बई प्रहरीले न्युज च्यानलहरुले पैसा दिएर आफ्नो टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट्स) बढाउने कोसिस गर्ने गरेको बताएको छ । मुम्बई प्रहरीका कमिस्नर परमवीर सिंहले बिहीबार प्रेस कन्फ्रेसमा यसको जानकारी दिएका हुन् । 

उनका अनुसार अहिलेसम्म यो घटनामा तीन वटा च्यानलको बारेमा पत्ता लागेको बताएका छन् । प्रहरी कमिस्नरका अनुसार यसमा रिपब्लिक टिभी पनि सामेल छ । उनका अनुसार रिपब्लिक टिभीले टीआरपी सिस्टमसँग चलखेल गरेको छ । अन्तर्वार्ताको शैलीका कारण आलोचित बन्दै आएका अर्णब गोस्वामी पनि रिपब्लिक टिभीका पत्रकार हुन् ।

रिपब्लिक टीभीले भने यी सबै आराेपकाे खण्डन गरेकाे छ । टीभीका इडिटर इन चिफ अर्णब गाेस्वामीले एक विज्ञप्तिमार्फत भनेका छन्, 'मुम्बई प्रहरीका कमिस्नर परमवीर सिंहले रिपब्लिक टिभीमाथि झुटा आराेप लगाएका छन् किनकि हामीले सुशान्त सिंह राजपूत प्रकरणमा उनीमाथि प्रश्न गरेका थियाैँ । रिपब्लिक टिभी मुम्बई प्रहरीका कमिस्नरविरुद्ध आपराधिक मानहानीकाे मुद्दा दायर गर्नेछ । बीएआरसीकाे यस्ताे एक रिपाेर्ट पनि छैन जसमा रिपब्लिक टिभीकाे नाम लिइएकाे छ । मुम्बई प्रहरीका कमिस्नरले आधिकारिक रुपमा माफी माग्नुपर्छ या हामीलाई अदालतमा देख्न तयार हुनुपर्छ ।'

प्रहरी कमिस्नर सिंहका अनुसार दुई वटा मराठी च्यानल (फक्त मराठी र बक्स सिनेमा च्यानल) का मालिकलाई पनि गिरफ्तार गरिएको छ । 

प्रहरीले टीआरपीको सिधा सम्बन्ध विज्ञापनबाट आउने पैसासँग हुन्छ र टीआरपीमा थोरै फरक आउनेबित्तिकै त्यो असर आम्दानीमा हुन्छ ।

प्रहरीका अनुसार मानिसहरुलाई आफ्नो घरमा कुनै विशेष च्यानल आफ्नो टिभीमा लगाउनको लागि महिनाको चार सयदेखि पाँच सय रुपैयाँ दिइन्थ्यो । 

प्रहरी कमिस्नरका अनुसार च्यानलसँग जिम्मेवार व्यक्तिविरुद्ध पनि कारबाही गरिनेछ । उनका अनुसार संयुक्त आयुक्त स्तरको एक अधिकारीको निगरानीमा यस मामिलाा जाँच भइरहेको छ ।   

बीएआरसी नामको एक एजेन्सीले टीआरपीको तय गर्छ । मुम्बई प्रहरीका अनुसार बीएआरसीले यो काम हंसा नामक एक एजेन्सीलाई दिएको छ । प्रहरीका अनुसार हंसा एजेन्सीका केही अधिकारीहरुले कुनै च्यानल विशेषसँग पैसा लिएर उनीहरुको टीआरपी बढाउने सम्झौता गरेको थियो ।    

प्रकाशित:
2020/10/08, 7:20