कोरोना भाइरस सङ्क्रमणबाट वडा अध्यक्षको मृत्यु

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

चितवन –चितवनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट भरतपुर महानगरपालिका २० का अध्यक्षको ज्यान गएको छ । भरतपुर अस्पतालमा उपचाररत वडाध्यक्ष ६९ वर्षीय मणिलाल तामाङको आइतबार बिहान ११ः३० बजे ज्यान गएकाे अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि वडाध्यक्ष तामाङलाई असोज २३ गते अस्पतालमा भर्ना गरिएको थियो । उहाँमा असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँमा मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो ।

अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको ज्यान गएकाे हो ।

अध्यक्ष तामाङ २०७४ को पालिका चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । उहाँकाे निधनप्रति भरतपुर महानगरपालिकाले शोक व्यक्त गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवङ्गत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । उहाँकाे सम्मानमा साेमबार एकदिन भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द रहने शोक वक्तव्यमा उल्लेख छ । 

प्रकाशित:
2020/10/11, 5:30