'सचेत बनौं, जाडो मौसममा कोरोना र रुघाखोकी छुट्याउन सकिँदैन'

दीर्घरोगी र वृद्धवृद्धालाई घरबाट ननिस्किन आग्रह
Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — सरकारले जाडो मौसम सुरु भएसँगै कोरोना संक्रमणले अझै जटिल रुप लिने बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता जागेश्‍वर गौतमले जाडो मौसममा कोरोना संक्रमण झन् जटिल हुने भएकाले सजगता अपनाउन आग्रह गरेका हुन्। आइतवार गरिएको मिडियो ब्रिफिङका क्रममा उनले कोरोना संक्रमण काठमाडौंसहित देशका घना बस्तीहरुमा फैलिरहेकाले अझै उच्च सतर्कता अपनाउन भनेका हुन्।  'कोरोना संक्रमण घना बस्तीमा फैलिरहेको छ। भेटघाट र आवतजावात निरन्तर देखिएको छ', उनले भने, 'स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने हो भने संक्रमण दर उच्च हुन्छ।' गौतमले नेपालमा बर्खे मौसम सकिएर अब जाडो मौसम आउन थालेकाले अझै सतर्कता आवश्यक रहेको बताए। 'नेपालमा मौसम परिवर्तन हुँदैछ। जाडोयाममा नेपालका हिमाल, पहाड, तराई क्षेत्रमा बसोबास गर्नेमा रुघाखोकी र निमोनियाको समस्याले सताउँदै आएको छ', उनले अगाडि भने, 'चिसो याममा स्वास्थ्य समस्याका रुपमा देखा पर्ने रुघाखोकी र कोरोना छुट्याउन मुस्किल पर्छ। रुघाखोकी लागेमा कोरोना नै हो कि भन्‍ने अवस्था आउँछ।' उनले यसकारण अझै सतर्कता बढाउनुपर्नेमा जोड दिए। 'अहिले घना बस्तीमै किनमेल हुने क्रम रोकिएको छैन। सावधानीपूर्वक आवतजावत गर्नु होला। यसपालिको चाडमा बाहिर आवतजावत नगरौं', उनले भने, 'कोरोनाबारे सबै नागरिक उत्तिकै जिम्मेवार हुन आवश्यक छ। कोरोनालाई ख्याल ठट्टा नसम्झौँ हालसम्म यसको उपचार र भ्याक्सिन छैन। हामी आफैं सचेत नभएमा यसको नियन्त्रण सम्भव छैन।' उनले नेपालको यही स्रोत साधनले कोरोना नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गरे। 'नेपालको स्रोत साधनबाट असीमित आवश्यकता परिपूर्ति गर्नुपर्ने चुनौती छ', गौतमले थपे, 'काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय संक्रमित बढेका बढ्यै छन्। अब उपचार गर्न पनि अफ्ठ्यारो परेको छ। आइसियुको अभाव हुन थालेको छ।' गौतमले अतिजरुरी बाहेकका अपरेशन पनि पछि सार्न आग्रह गरेका छन्। 'अतिजरुरी बाहेकका अपरेसनहरू पछाडि सारौं', उनले भने, 'ज्यान बचाउन गर्नै पर्ने अपरेसन मात्रै गरौं।' प्रवक्ता गौतमले ६० वर्षमाथिका वृद्धवृद्धाहरु, विभिन्‍न प्रकारका दीर्घरोग भएका बिरामीहरु, मृगौलाका बिरामी, क्यान्सरका बिरामी, रोगविरुद्ध लड्ने शक्ति कम भएका, श्वासप्रश्वासको समस्या भएका बिरामी, बालबालिका, सुत्केरी र गर्भवती महिलालाई घर बाहिर ननिस्कन आग्रहसमेत दोहोर्‍याएका छन्।

प्रकाशित:
2020/10/11, 7:51