सरकारले भन्यो–नागरिक सचेत नभए फेरि लकडाउन गर्ने अवस्था आउँछ

काठमाडौंमा संकट गहिरिँदै गएको निष्कर्ष
Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ — सरकारले काठमाडौंमा कोरोना भाइरस नियन्त्रणमा थप जटिलता र चुनौती देखिएको जनाएको छ। करिब ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना नियन्त्रणमा थप चुनौती आएको सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका हुन्।  मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा काठमाडौंमा कोरोना संक्रमण अनियन्त्रित भएमा भयावह अवस्था आउने सक्नेतर्फ मन्त्री ज्ञवालीले सचेत गराएका हुन्। केही दिनयता काठमाडौंमै देशभरको ६० प्रतिशत संक्रमित भेटिन थालेको बताउँदै यसले गम्भीर चुनौती खडा गरेको उनले उल्लेख गरेका छन्। संक्रमित बढ्दै गएपछि सरकारले काठमाडौंमा क्रिटिकल केयरका लागि भेन्टिलेटर र आइसियु थप्दै गएको उनले बताए। तर सरकारले प्रयास गरे पनि नागरिकस्तरबाट सचेतता नअपनाउँदा समस्या भएको उल्लेख गरे।  'काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमणलाई हल्का नलिनु होला' उनले भने, '१० लाख ५० हजारको ज्यान लिने रोग सामान्य होइन, सतर्कता अझै बढाऊँ, यसमा कमी आउन दिनु हुँदैन।' मन्त्री ज्ञवालीले चाडबाड यो पटक उल्लासमय बनाउन नसकिने बताए। 'हाम्रा वृद्ध अभिभावकहरुको जीवन हाम्रो सानो लापरवाहीले संकटमा पर्न सक्छ,' उनले भने, 'उनीहरुलाई सुरक्षित राख्‍न पनि हामीले सचेतता अपनाउन जरुरी छ। त्यसैले हरेक नागरिकले यो संकटमा जिम्मेवार पूर्ण रुपमा प्रस्तुत हुन् आवश्यक छ।' ज्ञवालीले देशका अन्य सहरले कोरोना नियन्त्रणमा कुशलता देखाएको बताउँदै तर हरेक राजनीतिक परिवर्तनमा अगाडि रहेको काठमाडौं महामारी नियत्त्रणमा चुकिरहेको उल्लेख गरे।  'देशभित्रकै केही जिल्लाहरुले नमुना प्रस्तुत गरेका छन्, कोरोना नियन्त्रणमा, त्यसलाई असल अभ्यासका रुपमा अबलम्बन गर्नुपर्छु, उनले भने, 'बाँकेको नरैनापुर, कपिलवस्तु, वीरगन्ज, उदयपुरजस्ता हटस्पट बनेका जिल्लाका असल अभ्यासलाई काठमाडौंमा लागू गर्न जरुरी छ।' ज्ञवालीले कोरोना नियन्त्रणका लागि पुनः कठोर कदम चाल्न सकिनेतर्फ पनि नागरिकलाई सचेत गराएका छन्। स्वास्थ्य मन्त्रालयका आग्रहको नागरिकस्तरबाट अवज्ञा भइरहेकाले फेरि लकडाउन र निषेधाज्ञासम्म पुग्‍न सकिनेतर्फ मन्त्री ज्ञवालीले सचेत गराएका छन्।  कोरोनाबाट नागरिक जीवन बचाउन सरकार लागिरहेको बताउँदै उनले स्वास्थ्य मन्त्रालयले पटक पटक आग्रह गर्दा पनि नसुनेकाले अर्को कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि बताएका छन्।  ज्ञवालीले संक्रमणको अवस्था जटिल बन्‍न नदिन सचेत भएर सरकारलाई साथ दिन पटक पटक आग्रह गरेका छन्। चाडपर्वको किनमेलको नाममा हुने भीडले कोरोना झन् फैलिने जोखिम भएकाले यसतर्फ सचेत हुन पनि अपिल गरे।

प्रकाशित:
2020/10/11, 8:08