भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्म कडाइ गर्ने सरकारको निर्णय

sima naka
कैलालीको त्रिनगर–गौरीफन्टा सीमा नाका
सुदूर प्रेस संवाददाता

धनगढी–भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै रहने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल-भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याएको हो । 
भारतमा दिनदिनै कोरोना संक्रमित बढिरहेको र नेपालमा पनि कोरोना संक्रमण बढिरहेकाले भारतसँगको नाकामा कडाइको अवस्था कायमै राखिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 'भारतबाट आएका व्यक्तिहरूमा पनि कोरोना संक्रमण देखिएकाले कडाइ गर्ने निर्णय भएको हो । नेपाल र भारतको सीमा भएर हुने आवतजावतमा यसअघि केही खुकुलो पारिएको थियो अब थप कडाइ हुनेछ,' ती मन्त्रीले भने ।

कोरोना संक्रमण बढिरहेकै कारण अन्तर्राष्ट्रिय उडानको अहिलेको कोटा प्रणालीलाई कायमै राख्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरेर आन्तरिक यातायात र व्यवसाय सञ्चालनलाई भने केही खुकुलो पार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दसैं र तिहारलाई मध्यनजर गर्दै लामो दूरीका यातायातका साधनमा सिट क्षमताअनुसार नै यात्रु राख्नपाउने निर्णय पनि गरेको छ । यसअघि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने निर्णय भएको थियो ।

मन्त्रिपरिषद्का निर्णय औपचारिक रूपमा सरकारका प्रवक्ता मन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछन् ।

प्रकाशित:
2020/10/13, 7:18