कर्णाली प्रदेशका मुख्यमन्त्रीको सङ्कट टर्‍यो,शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका सात सांसद पछि हटे

मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति
Mahendra shahi

सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका सात सांसद पछि हटेका छन् ।

मुख्यमन्त्री शाहीसँग भएको छलफलमा मन्त्रिपरिषद् पुुनर्गठन गर्ने सहमति भएपछि अविश्वास प्रस्तावबाट उनीहरु पछि हटेका हुन् । गएकाे आइतबार सत्ता पक्षकै १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध दलभित्र अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद यमलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद बढ्दै गएको थियो ।

यसबीचमा मुख्यमन्त्री शाहीले दलको प्रमुुख सचेतकबाट प्रधानमन्त्री ओली निकट सांसद गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाउनुभएको थियो । मुख्यमन्त्रीले दल र सरकारको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको आरोप लगाउँदै पूर्व एमालेतर्फका १५ र पूर्व माओवादीका तीन जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

केन्द्रबाटै दबाब आएपछि अविश्वास प्रस्तावबाट पछि हटेको नेपाल पक्षका सांसदको भनाइ छ । चन्द्रबहादुर शाही, पदमा खड्का, कुर्मराज शाही, अमरबहादुर थापा, सुशील थापा, देवी ओली र करवीर शाही अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । नेपाल पक्षका शाही सचेतक बन्ने सहमति लगत्तै मुख्यमन्त्री शाहीले उहाँलाई दलको सचेतकमा नियुक्त गर्नुभएको छ । सचेतकमा नियुक्त शाही अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेमध्येका एक हुन् । 

मुख्यमन्त्री शाहीले साेमबार मात्रै सचेतक सांसद सीता नेपालीलाई प्रमुुख सचेतक बनाएर सांसद गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाउनुभएको थियो । तीन जना मन्त्री र एक जना सचेतक दिने सहमति भएअनुसार मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गर्नुभएको हो । नेपाल पक्ष पछि हटेपछि मङ्गलबार बस्ने भनिएको संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन ।  

प्रकाशित:
2020/10/13, 2:44