मन्त्रिमण्डल हेरफेरमा प्रचण्ड असन्तुष्ट, ओलीले एकलौटी गरेको आरोप

prachanda
सुदूर प्रेस संवाददाता

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट भएका छन्। प्रधानमन्त्री ओलीले बुधबार रिक्त मन्त्रालय तीनजनालाई नियुक्त गर्दै दुई जनाको मन्त्रालय हेरफेर गरेका छन्।  'प्रधानमन्त्री ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो। त्यसमा अध्यक्ष दाहालको असन्तुष्टि छ', स्रोतले भन्यो, 'दाहाल पार्टी स्थायी कमिटीको निर्णयअनुसार सरकार प्रभावकारी रुपमा सञ्चालन गर्न अपवादबाहेक सबै मन्त्री फेर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो। तर, प्रधानमन्त्रीले एकलौटी रुपमा निर्णय लिनुभयो।'

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठनबारे पटक पटक वार्तामा बसिरहेका थिए। तर, उनीहरुबीच सहमति बन्‍न सकेको थिए। आज पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच करिब अढाई घण्टा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री ओलीले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन्। 

अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा  कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिरहाका लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन्। 

त्यस्तै दुई मन्त्रीको जिम्मेवारी पनि ओलीले हेरफेर गरेका छन्। उनले सञ्चारमन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गरेका छन्। पार्वत गुरुङ यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा थिए। 

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसमेत रहेका ईश्‍वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएका छन्। पोखरेललाई रक्षाबाट हटाएर उक्त मन्त्रालय ओली आफैंले लिएका छन्। ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेर तीन जना नयाँ मन्त्री ल्याउँदा पूर्व माओवादीबाट कसैलाई ल्याएका छैनन्।

प्रकाशित:
2020/10/14, 9:06