असई गोविन्द बिकको दोदा नदीमा विशेष सम्मानका साथ अन्त्येष्टि

Death
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढी उपमहानगरपालिका– १० को जुगेडामा हत्या गरिएका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको आज अन्त्येष्टि गरिएको छ ।  कञ्चनपुरको दोदा नदीमा उनको अन्त्येष्टि गरिएको हो ।  बिकको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उत्तम राज सुवेदीले नेपाल प्रहरीको झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रहरीको विशेष टुकडीले उनलाइ सलामी अर्पण गरेको थियो । धनगढी उपमहानगरपालिका–१२ जगेडामा रहेको अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको डिउटीमा रहेका बेला  बीभत्स हत्या गरिएको अवस्थामा आइतबार शब फेला परेको थियो । उनी सँगै खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अहिले सम्म यकिन हुन सकेको छैन । शनिवार राती करिब आठ बजेतिर प्रहरी सहायक निरीक्षक बिक,प्रहरी जवान रामबहादुर साउदलाई लिएर सीमा नाकामा गस्तीमा खटिएका थिए । आइतबार बिहानसम्म पनि सम्पर्क विहीन भएपछि खोजी तीव्र पारेको प्रहरीले नेपाल भारत सीमा भएर बग्ने मोहना नदीमा तैरिएको अवस्थामा बिकको शव फेला पारेको हो । उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । घटनास्थलको प्रकृति हेर्दा शव भएको स्थान बाट करिब ५ सय मिटर टाढा उखुबारीमा हत्या गरी घिसारेर नदीमा फालेको प्रहरीको अनुमान छ । खुला नाकामा राति तस्कर समूहले उनको हत्या गरेको प्रहरीले बताए पनि अहिले सम्म हत्यारा लाई प्रहरीले सार्वजनिक गर्न सकेको छैन । अर्का जवानको लास या सासको पनि अत्तोपत्तो छैन । 

प्रकाशित:
2020/10/19, 5:59