आइपिएलः पन्जाबको लयलाई रोक्न हैदराबादलाई चुनौती

ipl

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

दुबै टोली ‘गर वा मर’ को अवस्थामा छन् । अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना कायमै राख्न दुबै टोलीलाई आजको खेल जित्नै पर्ने हुन्छ । पन्जाब १० खेलमा ४ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ । हैदराबाद १० खेलमा ४ मा जित र ६ मा हार सहित पाँचौ स्थानमा छ ।

यसअघि लिग चरणको पहिलो खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको थियो । तर पछिल्ला तीन खेलमा लगातार जित निकालेको पन्जाबको लयलाई रोक्न हैदराबादलाई सहज हुने छैन । पन्जाबले पछिल्ला तीन खेलमा बलिया टोली बेंगलोरलाई ८ विकेट, मुम्बई इन्डियन्सलाई दोहोरो सुपर ओभर र दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको थियो ।

पन्जाबका शीर्ष चार ब्याट्सम्यान उच्च लयमा छन् । लोकेश राहुल, मयंक अग्रवाल, क्रिस गेल र निकोलस पुरन लगातार राम्रो प्रर्दशन गर्दै आएका छन् । गेलको आगमनले पन्जाब बलियो बनेको छ । पछिल्लो खेलमा राहुल र अग्रवाल सस्तैमा आउट भएपनि पूरनले आक्रामक अर्ध शतक बनाउदै सहज जित पक्का गराएका थिए । जसले गर्दा पन्जाबको मनोबल उच्च छ ।

यी चार ब्याट्सम्यानले आफ्नो लयलाई निरन्तरता दिन आवश्यक छ । ग्लेन म्याक्सवेलको कमजोर लय पन्जाबलाई ठूलो चिन्ताको विषय हो । म्याक्सवेलको स्थानमा मुजिब उर रहमानलाई मौका दिन सक्छ । तीव्र गतिको बलिङमा मोहम्मद शामीले उच्च प्रर्दशन गर्दै आएका छन् । शामीको प्रर्दशन पन्जाबलाई निकै महत्वपूर्ण हुने छ । जारी आइपिएलमा शामीले १६ विकेट लिई सकेका छन् ।

हैदराबादले पछिल्लो खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको थियो । उक्त खेलमा मनिष पान्डेले ८३ रन र विजय शंकरले ५२ रनको इनिङ खेलेका थिए । यी दुबै ब्याट्सम्यानलाई यस्तै इनिङ खेल्न आवश्यक देखिन्छ । घाइते भएका केन विलियम्सन आजको खेलमा उपलब्ध हुने वा नहुने अनिश्चित छ । उनको स्थानमा आएका जेसन होल्डरले ३ विकेट लिएका थिए । जुन हैदराबादलाई एउटा सकरात्मक पक्ष हो ।

ओपनर जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । लगतार योर्कर बल गर्दै चर्चामा रहेका टि नटराजन नायक बन्न सक्छन् । हैदराबादका स्पिनर राशिद खान बलिङका प्रमुख हतियार हुन् । दुबईको बाउन्ड्री ठूलो हुँदा त्यसको फाइदा राशिदले उठाउन सक्छन् । आइपिएलमा यी दुई टोलीबीच कुल १५ खेल भएको छ । जसमा हैदराबाद ११ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ ।

प्रकाशित:
2020/10/24, 6:51