कैलालीबाट पक्राउ परेका ओझालाई रिहाइ गर्न नेविसंघको माग

काठमाडौं लगेर थप अनुसन्धान गर्ने प्रहरीको भनाइ
pakrau
सुदूर प्रेस संवाददाता

धनगढी– नेविसंघले  कैलालीको अतरीयाबाट  पक्राउ परेका संघका नेता दिपक ओझालाई रिहाइ गर्न माग गरेको छ।  नेविसंघ शंकरदेव क्याम्पसका नेता ओझालाई प्रहरीले बुधबार अत्तरिया कैलालीबाट नियन्त्रणमा लिएको थियो।

बिनाकसुर सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनमार्फत् नेविसंघ नेताहरूलाई पक्राउ र यातना दिइनु सरकारको अमानवीय र निन्दनीय रबैया भएको नेविसंघ अध्यक्ष राजिब ढुंगानाले आज निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘निरन्तर संगठनको गतिविधिमा सहभागी भइरहेको अवस्थामा कैलालीबाट पक्राउ गरिएका नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझालाई तत्काल रिहाइका निम्ति जोडदार माग गर्दछु। तत्काल रिहाइ नगरे कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छु,’ अध्यक्ष ढुंगानाले निकालेको विज्ञप्तिमा भनिएको छ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले विनाकसुर नेविसंघ नेताहरूलाई श्रृंखलावद्ध रूपमा पक्राउ गरी झुटा मुद्दा लगाउने सरकारी अहंकारले आफूहरूलाई गम्भीर बनाएको बताएका छन्।

‘अन्यायविरूद्ध लड्ने र अन्याय नसहने हाम्रो मौलिक चरित्र हो। यसको परिणाम यो भ्रष्ट सरकारले ब्यहोर्छ,’ भट्टराईले भने।

त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरी घाइते बनाएको घटनामा ओझा एक योजनाकार भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

कैलालीबाट पक्राउ परेका ओझालाई काठमाडौं ल्याएपछि थप अनुसन्धान गर्ने प्रहरीको भनाइ छ।


उपप्राध्यापक चलाउनेमाथि गत असोज २० मा त्रिवि परिसरभित्रै कुटपिट भएको थियो। घटनामा संलग्न रहेको आरोपमा यसअघि प्रहरीले केहीलाई पक्राउ गरिसकेको छ।

प्रकाशित:
2020/10/30, 6:34