कैलालीमा दुई बालिका माथि सामूहिक बलात्कार

संलग्नमध्ये ८ जना पक्राउ, एक फरार
rape
प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

कैलाली—कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैंको चहलपहल थियो । कात्तिक ८ गते अष्टमीका दिन गाउँमा डीजेसहित युवा नाचगान गरेर रमाइरहेका थिए । रमाइलो हेर्न बालिकाहरू पनि गएका थिए । तर घर फर्कने क्रममा ९ बजेतिर सामूहिक बलात्कारमा परे । बलात्कृत बालिका १३ र १४ वर्षका हुन् । जानकीका चार बालिका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्कंदै थिए । ९ जनाको समूहमा रहेका केटाहरूले उनीहरूलाई घेरा हाले । एक बालिका घेरा हाल्ने केटामध्ये एक जनाको साथीकी बहिनी थिइन् । उनलाई साथीकी बहिनी भनेर छाडे । अर्कीलाई पनि चिनेकै भएर केही गरेनन् । दुई जनालाई बन्धक बनाए, सामान्य कुटपिट गरे । अरू दुई बालिकालाई भने खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बलात्कार गरे ।

आफ्ना साथीलाई खेतमा लगेर बलात्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालिकाले घरमा एसएमएसमार्फत घटनाको जानकारी गराइन् । परिवारले वडाध्यक्षलाई खबर गरे ।

वडाध्यक्षसहितको टोलीले घटनास्थलबाट उनीहरूको उद्धार गर्‍यो । टोली घटनास्थल पुगेपछि सामूहिक बलात्कारमा संलग्न युवा फरार भएका थिए । तर बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई घटनाकै राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–५ का १८ वर्षीय कृष्ण नगरकोटी र २२ वर्षीय मनोज चौधरी तथा लम्कीचुहा नगरपालिका–१ भुरुवाका १९ वर्षीय धीरेन्द्र विष्ट, १९ वर्षीय नरेश चौधरी, १८ वर्षीय रमेश शाही, १८ वर्षीय सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी र २१ वर्षीय महेश चौधरी छन् । १८ वर्षीय चन्द्र शाही फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । घटनास्थलबाट पीडितलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

सामूहिक बलात्कारमा परेका दुई बालिका शारीरिक तथा मानसिक पीडामा छन् । उनीहरू घरबाट निस्कने अवस्थामा नरहेको परिवारको भनाइ छ । ‘शारीरिक तथा मानसिक रूपमा पीडा कति छ भन्ने शब्दले बताउन सक्ने अवस्था छैन,’ पीडितकी आफन्त कलावतीले भनिन् । उनका अनुसार ती बालिकालाई घरमै राखेर अस्पताल लग्दै औषधोपचार भइरहेको छ ।

सामूहिक बलात्कार घटनाको कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उनका अनुसार घटनास्थलको मुचुल्का तयार पारिएको र आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ । फरार एक जनाको खोजी भइरहेको छ । ८ जना अभियुक्तले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ । कान्तिपुरबाट

प्रकाशित:
2020/11/01, 7:39
SPA
KN
Priya Gahana Pasal