दार्चुलामा प्रधानाध्यापक मृत भेटिए, हत्याको आशंका

Death
सुदूर प्रेस संवाददाता

दार्चुला — शैल्यशिखर नगरपालिका ९ स्थित जगतपुरी शिवधाम नजिक भिरपट्टी आरसीसी नहर (कुलो) मा मंगलबार बिहान एक जना प्रधानाध्यापक मृत भेटिएका छन् । नहरमा टाउको र बाहिरपट्टी हात रहेको अवस्थामा बैतडी जिल्ला डिलाशैनी गाउँपालिका २ कपट्टास्थित डाडाबाग आधारभूत विद्यालय किमिचोरका प्रधानाध्यापक अन्दाजी ४५ वर्षीय गोविन्द घरेडीको शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहान नहरमा फेला परेको शवको पहिचान भइसकेको र घटनाबारे अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउदले बताए । प्रहरीका अनुसार मृतकसँग ८५ हजार नगद रुपैयाँसहित झोला, मोबाइल, बैंक चेकबुकलगायत सामान रहेको छ ।

मृतकको टाउकोमा धारिलो हतियार प्रहार भएको जस्तो देखिने घाउ र शरीरमा निलडाम परेको छ । सोमबार बिहान शिक्षकहरुको तलबभक्ता भुक्तानी गर्न घरबाट गोकुलेश्वर आएका प्रधानाध्यापक घरेडीको गाउँ जाने बाटो नै नपर्ने सडक माथिको आरसीसी नहर (कुलो) भित्र शव फेला परेकोले आफन्तहरुले हत्याको आशंका गरिरहेका छन् । घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित:
2020/11/03, 4:47