शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक र संस्थागत विद्यालय बिच धनगढीमा अन्तरक्रिया

सुदूर प्रेस संवाददाता

धनगढी–शैक्षिक गुणस्तर सुधारका लागि धनगढीका सामुदायिक र संस्थागत विद्यालय बिच शुक्रवार अन्तरक्रिया सम्पन्न भएको छ । सामुदायिक र संस्थागत विद्यालय बिच शैक्षिक गुणस्तर सुधारका लागि यसरी छलफल भएको पहिलो पटक हो । शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर धनगढी उप–महानगरपालिका अन्तरगत नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति कैलाली निवर्तमान कार्यसमितिले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक र संस्थागत विद्यालय बिचको सहकार्य विषयक अन्तरक्रियाको आयोजना गरेको हो । कार्यक्रममा शैक्षिक क्षेत्रका विज्ञ, धनगढी उप–महानगरपालिका नगर शिक्षा समितिका प्रतिनिधिहरू, नगरप्रमुख, सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्टार, क्याम्पस प्रमुखहरू, प्रअहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागी अधिकांशले संस्थागत विद्यालय र सामुदायिक विद्यालयले राम्रा अभ्यास र सिकाइहरू हस्तान्तरण गर्नुपर्ने, साझा शैक्षिक क्यालेन्डर बनाएर पठनपाठन गराउनुपर्ने लगायतका सुझाव दिएका थिए ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूको सहकार्यबाट शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए । ‘सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तरमा सुधार ल्याएमा संस्थागत विद्यालय आफै गुणस्तर सुधार गर्नका लागि जुट्छन् नगरप्रमुख वडले भने, ‘त्यसैले गुणस्तर सुधारका लागि सामुदायिक विद्यालय पहिले जुट्नुपर्छ । धनगढी उप–महानगरपालिकाका सबै सामुदायिक विद्यालयहरू पूर्वाधार सम्पन्न हुँदै गएको नगरप्रमुख वडले बताए । सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्टार प्राध्यापक डाक्टर हेमराज पन्तले संस्थागत विद्यालयले गरेका राम्रा अभ्यासहरू सामुदायिक विद्यालयले सिक्ने तथा सामुदायिक विद्यालयका राम्रो अभ्यास संस्थागत विद्यालयले ग्रहण गर्ने वातावरण सिर्जना हुनुपर्ने बताए । निजी क्षेत्र पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिस्टार प्राध्यापक डाक्टर पन्तले बताए । उनले भने, सामुदायिक विद्यालय अभिभावकहरूले कम प्राथमिकतामा राख्दछन् ।

नेपाल शिक्षक सङ्घ कैलालीका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष भूपाल सिंह खड्काले कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूको सहकार्यबाट धनगढीको शैक्षिक गुणस्तरमा सुधार ल्याउनु भएको बताए । उनले यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट, धनगढी नमुना प्राविधिक विद्यालयका प्रअ लक्ष्मणदत्त भट्ट, नेपाल शिक्षक महासङ्घ कैलालीका अध्यक्ष भिमबहादुर बलायर, धनगढी नगर शिक्षा समितिका सदस्यहरू हरि रेग्मी, पदम सावद, शिक्षक सावित्री जोशी, पञ्चोदय माविका प्रअ हरिस ओझा,शिक्षक नेता नवराज ओझा लगायतले सामुदायिक र संस्थागत विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारका लागि खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राखेका थिए । कार्यक्रम शिक्षक पदमराज जोशीले सञ्चालन गरेका थिए । स्वागत धर्मराज जोशीले गरेका थिए । कार्यक्रममा त्रिनगर माविका शिक्षक नेत्र खडायत र तीर्थ फुलाराले कार्यक्रमको व्यवस्थापन गरेका थिए ।        

Image may contain: one or more people, people sitting, table and indoor

 

प्रकाशित:
2020/11/06, 5:39