बिहीबार सचिवालयको बैठक बोलाउन ओलीलाई दाहालको प्रस्ताव

oli prachand
सुदूर प्रेस संवाददाता

काठमाडौँ — नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् ।  मंगलबार दिउँसो ओलीलाई भेटेर दाहालले बिहीबार बैठक बोलाउने विषयमा सहमतिका आग्रह गरेका थिए । तर, बैठकका लागि ओली सहमत भइनसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यको बैठकमा ओलीसँगको भेटबारे दाहालले ब्रिफिङ गरेका थिए ।

'गत शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरेका थियौं । योबीचमा बैठक बस्ला भन्ने अपेक्षा थियो । बैठक बसेन । बैठक बस्ने कुरामा उहाँ (ओली)ले सहमति दिनु भएन,’ प्रवक्ता श्रेष्ठले भने, 'आज अध्यक्ष प्रचण्डले उहाँलाई भेटेर पर्सि २७ गते बैठक बस्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ । तर उहाँ (ओली) पर्सिको बैठक बस्ने कुरामा पनि सहमति जनाइसक्नु भएको छैन । उहाँले बैठकमा सहमति जनाउनु हुनेछ । सहमतिमै बैठक बस्ने आशा गरौं ।’

यसअघि कात्तिक २१ मा सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा बसेको थियो । उक्त बैठकमा औपचारिक बैठकको सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय भएको थियो ।

सोही निर्णय अनुसार कात्तिक २२ मा अध्यक्ष दाहालसहितका ५ नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए । साथै दुई दिनभित्र सचिवालयको बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएका थिए ।

तर, यो बीचमा प्रधानमन्त्री ओली बैठकका लागि तयार नभएपछि दाहालले फेरि ओलीलाई भेटेर बिहीबार सचिवालयको बैठक प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा ओलीले सहमति नजनाएपछि दाहालले धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यबीच छलफल गरेका थिए । बिहीबारको बैठकमा ओली नआए पनि बहुमत सदस्यबीच बैठक बस्ने तयारी भएको छ ।

धुम्बाराहीको अनौपचारिक छलफलमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए ।

प्रकाशित:
2020/11/10, 7:26