धनगढीको कोरोना अस्पताल बिरामीले भरियो, गम्भीर लक्षण सहितका सङ्क्रमितले अब कहाँ जाने ?

सुदूरपश्चिममा १६ सय ११ जना सक्रिय सङ्क्रमित
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा लक्षण सहितका कोरोना सङ्क्रमित थपिने क्रम बढेपछि गम्भीर प्रकृतिका सङ्क्रमितको उपचारमा समस्या हुन थालेको छ । 
प्रदेशकै पहिलो र रेफरल कोभिड अस्पताल सेतीका ५० शैय्या गम्भीर लक्षण सहितका  कोरोना सङ्क्रमितले भरिएका छन् । ५० शय्याको अस्थायी कोरोना अस्पताल बनाइएको सेतीमाअहिले ५१ सङ्क्रमित उपचाररत छन् । तत्काल थप गम्भीर लक्षण सहितका सङ्क्रमित आएपछि कहाँ राख्ने भन्ने कुनै टुङ्गो छैन । भएका बेड भरिभराउ भएर पनि थप एक जनालाई पुरानो अस्पताल रहेको ठाउँमा राखेर उपचार थालिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 
प्रदेश सरकारसँग पनि तत्काल गम्भीर लक्षणसहितका सङ्क्रमित थपिएमा धनगढीबाट रेफर गर्ने बाहेक अरू विकल्प छैन । र कहाँ रेफर गर्ने भनेर पनि अन्यौलता छ । अब एक महिनाभित्र थप ५० बेडको अस्पताल बनाउने गरी काम थालिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । 
सेती अस्पतालको जनरल वार्डमा ३४ र १७ जना गम्भीर सङ्क्रमितको आइसियुमा राखेर उपचार भइरहेको छ । जनरल वार्ड मात्र होइन अस्पतालको सघन उपचार कक्ष आइसियु पनि भरिभराउ हुन थालेको छ । दश शइयाको आइसियु सेटअप रहेको अस्पतालले जनरल वार्ड समेत अक्सिजनको उपलब्धता हुने गरी वैकल्पिक व्यवस्था गर्दै २० शय्याको बनाएको छ । तर अस्पताल भर्ना भएका १६ जना सङ्क्रमितलाई आइसियुमा राखेपछि थप गम्भीर बिरामी फेला परे उपचारमा समस्या हुने देखिएको हो ।
लकडाउन खुलेर चिसो बढेपछि सुदूरपश्चिममा कोरोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।  सुदूरपश्चिममा हाल सम्म १० हजार २ सय १० जनामा कोरोना सङ्क्रमण भएको छ । ती मध्ये ८ हजार ५ सय ७१ जना निको भएका छन् । प्रदेशमा १ हजार ६ सय ११ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबैभन्दा बढी ७ सय ७८ जना कैलालीमा छन् । १५ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ । २९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 
लक्षण सहितका आइसियु र भेन्टिलेटरमा राख्नु पर्ने बिरामी वढन थालेपछि चुनौती थपिएको र तत्काल उपकरण र दक्ष जनशक्ति व्यवस्थापन हुन नसके बिरामी समाल्नै समस्या हुने सेती प्रादेशिक अस्पतालका इर्मजेन्सि विभाग प्रमुख डा. जगदीश जोशीले बताए । अस्पताल भरिएको छ  अब बिरामी आफैले सजगता अपनाउनु पर्छ उनले भने । भिडभाडमा नजान र जानै परे दुरी कायम गर्न तथा अनिवार्य मास्क प्रयोग गर्न उनले सुझाएका छन् । 
कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने पूर्व आङ्कलन हुँदा हुँदै पनि पूर्व तयारी नगर्दा कोरोना भाइरसका सङ्क्रमितले उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुने तर्फ बेलैमा  सजगता अपनाउन आवश्यक देखिएको छ । 

प्रकाशित:
2020/11/11, 7:23