तिहारमा देउसी भैलो नखेल्न धनगढी उपमहानगरको नगर बासीलाई आग्रह

नगरप्रमुख र उप–प्रमुखद्वारा दीपावलीको शुभकामना
mair upamair

धनगढी–धनगढी उप–महानगरपालिका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले दीपावली २०७७ को अवसरमा नगरवासीमा कामना व्यक्त गरेका छन् । प्रमुख र उप–प्रमुखले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ‘हिन्दुहरूको दोस्रो ठुलो चाड शुभ–दीपावली २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नगरवासी दाजुभाइ दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।’

‘घरघरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा,भाइ टिका लगाई मनाइने यस चाडले सम्पूर्ण नेपालीहरूको मुहारमा उज्यालोपन ल्याउन सकोस्, आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न शुभ दीपावलीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।’ शुभकामना सन्देशमा उल्लेख छ ।

‘धनगढी उप–महानगरपालिकाले हरेक जाति, वर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वलाई समान प्राथमिकता दिँदै आएको अवगत गराउन चाहन्छौँ ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘अहिले कोरोना महामारीको जोखिम भएकाले आवश्यक काम बाहेक घर बाहिर ननिस्किन, बजारमा किनमेल गर्दा, अनिवार्य रूपमा सामाजिक एवम् भौतिक दुरी कायम गर्न, देउसी भैलो खेल्ने कार्यक्रमको आयोजना नगर्न, जोखिम घटाउनका लागि मास्कको प्रयोग गर्न, पटक पटक साबुन पानीले हात धुन, सर सफाइमा ध्यान दिन र ज्वरो आउने, थकाई लाग्ने, सुख्खा खोकी लागिरहेमा स्वास्थ्यकर्मीको परामर्श लिन सबैमा हार्दिक आह्वान गर्दछौँ ।’

तिहारमा भिडभाड नगर्न धनगढी उप–महानगरपालिकाको अनुरोध

कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले तिहारमा समेत भिडभाड नगर्न धनगढी उप–महानगरपालिकाले अनुरोध गरेको छ ।

धनगढी उप–महानगरपालिका कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै चाडपर्वको समयमा हुने बढी आवातजावातले सङ्क्रमण फैलिने भएकाले घरभित्रै सुरक्षित भएर पर्व मनाउन आग्रह गरेको छ । बिहीबार बसेको नगर कार्यपालिका बैठकबाट नगरवासीमा तिहारमा आयोजना हुने देउसी–भैलीका कार्यक्रम आयोजना नगर्न अनुरोध गर्ने निर्णय भएको नगरप्रमुख नृपबहादुर वडले बताए ।

 

 

प्रकाशित:
2020/11/14, 9:07