नेपाल संवत् ११४१ आजदेखि शुरू

nepal sambat
सुदूर प्रेस संवाददाता

काठमाडौँ–नेपाल संवत् ११४१ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कोरोना महामारीका कारण यसवर्ष ठूला र भीडभाय हुने कार्यक्रम भने हुने छैनन्। यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूआत गराएका थिए। 

साख्वाद्वारा प्रवद्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो। यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ। लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरका अनुसार नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको हो ।विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ।

गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै ०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतेत्वको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेकोे थियो। 

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।  कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौंमा अझै छ।

नेपाल संवतलाई  नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ। 

यसैबीच साँझ शुक्ल प्रतिपदा परेका दिन नेवार समुदायमा  म्हः (आत्म) पूजा समेत परम्परा छ। यस वर्ष आइतबार साँझमै शुक्ल प्रतिपदा परेकाले आइतबार नै म्हः पूजा गरिएको छ।

साँझ कार्तिक शुक्ल प्रतिपदा परेका दिन आइतबार नै नेवार समुदायका मानिसले आफ्नो  म्हःपूजा पर्व मनाएका छन्। यस वर्ष आइतबार र सोमबार दुई दिन प्रतिपदा तिथि परेका छन्।

एकथरि नेवार समुदायले आइतबार म्हःपूजा गरेका छन्। अर्काथरिले भने आज सोमबार गर्दैछन्। सोमबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले मंगलबार भाइटीका गर्ने जानकारी गराएका छन्। किजा पूजाका दिन मंसिर २ गते मंगलबारर पनि सरकारले सार्वजनिक बिदा दिएको छ।

यसैबीच नेपाल संवत् ११४१ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन्। उनले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।  यस संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने राष्ट्रपतिको विश्वास छ। 

राष्ट्रपति भण्डारीले कोभिड–१९ को बढ्दो संक्रमणबाट जोगिएर स्वास्थ्य सुरक्षा मादण्ड पालना गर्दै नेपाल संवतको नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गरेकी छन्। 

प्रकाशित:
2020/11/16, 6:34
SPA
KN
Priya Gahana Pasal