चैनपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो गोली हानाहान

goli
सुदूर प्रेस संवाददाता

संखुवासभा–चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ। गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो। सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिएका छन्‌।

प्रहरीको नियमित गस्तीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको डिएसपी मल्लले बताए। विप्लव कार्यकर्ताले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ खोलेको उनको भनाइ छ।

गोली चलेपनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।  आफूहरूले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको प्रहरीले दावी गरेको छ। स्थानीयका अनुसार दुवै पक्षबीच केहीबेर गोली हानाहान भएको थियो। 

घटनास्थलमा ६० जना सुरक्षाकर्मीको टोली खटाइयो

प्रहरी र विप्लव कार्यकर्ता बीच दोहोरो गोली हानाहान भएपछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटनास्थल मैदानेमा शसस्त्र प्रहरी र नेपाल प्रहरीसहित ६० सुरक्षाकर्मी खटाइएको हो।

शसस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी घटनास्थल पुगेको छ। सुरक्षाकर्मी परिचालन गरेर विप्लव कार्यकर्ताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित:
2020/11/16, 6:26