जर्मनीमाथि स्पेनको आधा दर्जन गोल

foot ball
सुदूर प्रेस संवाददाता

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को ऐतिहासिक जित दर्ता गरेको छ । स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १-१ गोल गरे । एकपक्षीय खेलमा स्पेनले पहिलो हाफमा नै ३-० को अग्रता बनाएको थियो । स्पेन यस जितसँगै जर्मनीलाई उछिन्दै नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवाती केहि मिनेट जर्मनीले खेलमा दबाब बनाएपनि स्पेनले एक पछि अर्को जर्मन आक्रमण विफल पार्दै खेल बराबरीमा राख्यो । १५ औं मिनेटमा अल्भारो मोराटाको प्रहारले पोस्टको दिशा लिन सकेन । १७ औं मिनेटमा भने स्पेन अग्रता बनाउन सफल रहयो । फाबियन रुइजको कर्नरमा मोराटाको हेडरलाई कप्तान तथा गोलरक्षक म्यानुएल नोएरले बचाउन सकेनन् ।

३३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे । ड्यानी ओल्मोको हेडर क्रसबारमा लागेर फर्केपछि पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका टोरेसले गोल गरेका थिए । ३८ औं मिनेटमा स्पेनले ३-० को अग्रता बनाउन सफल भयो । फाबियनकै कर्नरमा रोड्रीले गरेकको फ्लिक हेडर फार पोस्टमा गोल हुन पुगेको थियो । ४३ औं मिनेटमा कप्तान सर्जियो रामोसले चोट बोकेपछि उनको स्थानमा एरिक गार्सिया मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफमा जर्मनीले डिफेन्डर परिवर्तन गरेपनि गोलको क्रम रोक्न भने सकेन । ५५ औं मिनेटमा टोरेसले व्यक्तिगत दोश्र गोल गर्न सफल रहे । फाबियनको थ्रु बललाई जोसे गयाले पेनाल्टी क्षेत्रभित्र लग्दै आफैं प्रहार नगरी टोरेसलाई खालि पोस्टमा गोल गर्ने अवसर दिए । जसमा टोरेसले कुनै गल्ति गरेनन् ।


टोरेसले ७१ औं मिनेटमा ह्याट्रिक पूरा गरे । फाबियनको पासमा टोरेसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई नोएरले बचाउने प्रयास गरेपनि सफल हुन सकेनन् । ७७ औं मिनेटमा जर्मनीका सर्ज जिनाब्रीको प्रहार पोस्टमा लाग्दा जर्मनीले सान्त्वना गोल पनि पाउन सकेन । ९० औं मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले सहजै गोल गर्दै ६-० को जित पक्का गरे ।

यस जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेनले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसँगै ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीले ६ खेलमा २ जित, ३ बराबरी र १ हारका साथ ९ अंक बनायो ।

यसै समूहको अर्को खेल भने कोरोना संक्रमणका कारण आयोजना हुन सकेन । स्विटजरल्यान्डले युक्रेनको सम्पूर्ण टोलीलाई क्वारेन्टिनमा राखेपछि यूईएफएले खेल रद्द गर्ने निर्णय गरेको हो । युक्रेनको ६ अंक छ भने स्विटजरल्यान्ड ३ अंकसहित पुछारमा छ ।

प्रकाशित:
2020/11/18, 7:01