इटाली नेसन्स लिगको सेमिफाइनलमा

itly
सुदूर प्रेस संवाददाता

एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालीले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गरेको छ ।अब इटालीले नेसन्स लिगका उपाधिका लागि स्पेन, फ्रान्स र बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको खेलमा इटालीको सहज जितमा एन्ड्रिया बेलोट्टी र डोमिनिको बेरार्डीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल सम्भव भएको थियो ।

खेलको २२औं मिनेटमा एन्ड्रिया बेलोट्टीको गोलबाट अग्रता लिएको थियो । उनले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरेका थिए । २५औं मिनेटमा डोमिनिको बेरार्डीले अवसर खेर फाल्दा इटाली अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३९औं मिनेटमा स्मेल प्रिभजाकले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । ४४औं मिनेटमा बोस्नियाले बराबरीको अवसर खेर फाल्यो । ५४औं मिनेटमा मिरालेम प्यानिचले अर्काे अवसर खेर फाल्दा बोस्निया बराबरीबाट चुक्यो ।

६८औं मिनेटमा बेरार्डीले गोल गर्दै इटालीलाई २–० ले अघि बढाए । उनले म्यानुयल लोकाटेलीको पासमा गोल गरेका थिए । ८८औं मिनेटमा लोरेन्जो इन्सिग्नेको पासमा फेडरिको बर्नारडेस्चीको प्रहार क्रसबारमा लागेर फर्कंदा इटाली अर्काे गोल थप्नबाट असमर्थ बन्यो ।

यो जितसँगै लिग ए १ मा इटाली ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित बोस्निया २ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परेको छ । ११ अंक जोडेर नेदरल्यान्ड्स र ७ अंक जोडेको पोल्यान्ड यसै समूहमा यथावत छन् ।

प्रकाशित:
2020/11/19, 9:04