कञ्चनपुरको पुनर्वासका एक युवकको भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या

hatya
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको पुनर्वासका एक युवकको भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएको छ ।  पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको छातीमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले स्रोतले जनाएको छ ।  भारतीय प्रहरीले उनको शव नियन्त्रणमा राखेको छ ।  घटनास्थल दशगजाबाट करिब ३ किलोमिटर दक्षिणमा पर्दछ । स्थानीयले त्यहाँबाट शव बोकेर नेपाल तर्फ ल्याउँदै थिए । तर भारतीय सुरक्षाकर्मीले ल्याउन नदिएको स्थानीयको भनाइ छ । शव अहिले दशगजा बाट करिब सत्तरी असी मिटर दुरीमा छ । भारतीय प्रहरीले पोष्टमार्टुमका लागी शव भारत लखिमपुर लैजाने तयारी गरेको प्रहरीले जनाएको छ । राना ३ दिन देखि घरबाट बेपत्ता रहेका थिए । आज दिउँसो करिब १ बजेतिर उनको शव भेटिएको खबर आएको प्रमुख कञ्चनपुरका जिल्ला अधिकारी राम कुमार महतोले बताए । नेपाल प्रहरीले घटना बारे समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी  महतोले बताए । उनले छातीमा चोट लागेको तर गोली प्रहार गरिएको हो वा अन्य केही हो भन्ने विषयमा अनुसन्धान गर्ने र बुझ्ने काम भइरहेको बताए । भारतीय सुरक्षा निकायबाट भने अहिले सम्म यस विषयमा कुनै धारणा बाहिर आएको छैन । 

 

प्रकाशित:
2020/11/19, 5:37