कञ्चनपुरको सीमा पारी गोली हानी हत्या गरिएका रानाको शव लखीमपुर लगियो 

सुदूर प्रेस संवाददाता

धनगढी–कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमानाकामा पर्ने भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएका युवकको शव भारतीय प्रहरीले भारतको लखीमपुर लगेको छ । पोस्टमार्टम र अनुसन्धानका लागी भन्दै भारतको कोतवाली प्रहरीले उनको शव हिजो बेलुका  करिब पौने ७ बजे लखिमपुर लगेको हो । अनुसन्धान र सोधपुछका लागी भन्दै हत्या गरिएका रानाका परिवारका ५ जना आफन्तलाई पनि भारतीय प्रहरीले सँगै लगेको छ । मृतकको शव पोस्टमार्टम पछि शव आज आफन्तलाई बुझाउने जनाइएको छ ।  पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको छातीमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा हिजो दिउँसो करिब १ बजे भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा शव भेटिएको थियो । उनी अघिल्लो दिन २ बजेबाट घरबाट सम्पर्क विहीन भएको आफन्तले बताएका छन् । नेपालबाट करिब ३ किलोमिटर दक्षिण निकुञ्ज जङ्गलमा गोली प्रहार गरी हत्या गरिएको शव आफन्तले बोकेर दशगजा नजिक ल्याएका थिए । तर भारतीय प्रहरीले घटना भारतमा भएको र अनुसन्धान गर्ने भन्दै रोकेको थियो । घटना भएको ठाउँमा रगत हरू पनि ढाकछोप गरि गरी प्रमाण मेटाइएको आफन्तको भनाइ छ ।  उनीहरूले घटनाको सत्य तथ्य छानबिनका लागी नेपाल सरकार लाई आग्रह गरेका छन् । 

प्रकाशित:
2020/11/20, 8:31