कञ्चनपुरको सीमा पारी गोली हानी हत्या गरिएका रानाको शव नेपाल ल्याइयो 

Hatya
गोली प्रहार गरी हत्या गरिएका पुनर्वासका शिवलाल राना
सुदूर प्रेस संवाददाता

धनगढी–कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमानाकामा पर्ने भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएका शिवलाल रानाको  शव भारतीय प्रहरीले शुक्रवार राती आफन्तलाई बुझाएको छ । राती साढे १० बजे उनको शव आफन्तले नेपाल पु-यायका छन् ।

भारतको लखीमपुरमा पोस्टमार्टम गरेर प्रहरीले गौरीफन्टा नाका सम्म शव पुगाइ दिएका थिए । त्यहाँबाट मृतकका आफन्तले शव आफै घर सम्म लगेका थिए । भारतीय प्रहरीले उनको पोस्टमार्टम गरे पनि रिपोट भने दिएका छैनन् ।

भोलि आइतबार पोस्टमार्टम रिपोट आएपछि दिइने भारतीय प्रहरीले मृतकका आफन्तलाई बताएका थिए । उनको आज पुर्नबासको दोदा नदीमा दाहसंस्कार गर्ने तयारी आफन्तले गरेका छन् । 

 पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको छातीमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा बिहीबार  दिउँसो करिब १ बजे भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा शव भेटिएको थियो । उनी त्यसको अघिल्लो दिन बुधवार दिउँसो  घरबाट सम्पर्क विहीन भएको आफन्तले बताएका छन् ।

नेपालबाट करिब ३ किलोमिटर दक्षिण निकुञ्ज जङ्गलमा गोली प्रहार गरी हत्या गरिएको शव आफन्तले बोकेर दशगजा नजिक ल्याएका थिए । तर भारतीय प्रहरीले घटना भारतमा भएको र अनुसन्धान गर्ने भन्दै रोकेको थियो । घटना भएको ठाउँमा रगत हरू पनि ढाकछोप गरी गरी प्रमाण मेटाइएको आफन्तको भनाइ छ ।   

गोली प्रहार गरी हत्या कसले किन गरेको हो भन्ने विषयमा अहिले सम्म भारतीय प्रहरीले केही बताएको छैन । मृतकका परिवारजनले घटनाको सत्य तथ्य छानबिनका लागी नेपाल सरकार लाई आग्रह गरेका छन् ।

प्रकाशित:
2020/11/21, 9:19