गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

सुदूर प्रेस संवाददाता

नेपालगञ्ज– १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीचन्द्र पार्की अर्काे वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् ।

ओलम्पिक छनोटको रुपमा रहेको छैटौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बन्दै विभागीय नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्की ओलम्पिकलाई छनोट हुन सफल भएको हुन् ।
टोकियो ओलम्पिकमा एथ्लेटिक्स खेलाडीले भाग लिने नेपालगन्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी गराए ।

शनिबार बिहान भएको म्याराथनमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबका कृष्णा बस्नेतलाई पछि पार्दै च्याम्पियन बनेका हुन् । पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे । दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे ।

गतवर्षको विजेता आर्मीकै नवराज साउदले २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा चौथो स्थान हासिल गरे । नेपाली सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा पाँचौ स्थान हासिल गरे । सुदुरपश्चिम प्रदेशका मुकेश बहादुर पालले २ घन्टा ४७ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै छैटौ स्थान हासिल गरे ।

च्याम्पियन बनेसँगै गोपीले ७५ हजार रुपैया हात पारे । दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएको साउदले १०, पाँचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता भएका थिए ।

प्रकाशित:
2020/11/21, 12:53