६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका शाहको घरमा आगजनी

प्रहरीकाे गाेली लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाण्डाै पठाइयाे
agjani
सुदूर प्रेस संवाददाता

महोत्तरी –बर्दिवासमा प्रहरीको गोली लागेर घाइते भएका तीन जनामध्ये दुई जनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । मङ्गलबार दिउँसो प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सञ्जय न्यौपाने र श्याम कार्कीलाई उपचारको लागि काठमाण्डौ पठाइएको हो । 


सञ्जयलाई हेलिकप्टरमार्फत र श्यामलाई एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाण्डौ पठाइएको हो । त्यस्तै त्यही घटनामा घाइते भएका अर्का अफताब आलमको बर्दिवासमै उपचार भइरहेको छ ।

मङ्गलबार दिउँसो भिड नियन्त्रण लिने क्रममा प्रहरीले अश्रुग्यास र गोली चलाउँदा उनीहरू घाइते भएका थिए । बर्दिबास नगरपालिका १४ काे शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएकाे थियाे । 

बर्दिवास नगरपालिका-१४ मा ६ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणपछि स्थानीयबासी आक्रोशित भएका छन्। 

​शुभम् बस्तीबाट हराइरहेकी ६ वर्षीया बालिका खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिक-५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ।

पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन्‌। पक्राउ परेका शाहको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन्‌। प्रहरीका अनुसार खातुनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको थियो। 

स्थानीय शहीद आलमकी छोरी खातुन आइतबार साँझदेखि बस्तीबाटै हराएकी थिइन्‌। हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार मध्यरातमा  शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए।

बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका-५ का २५ वर्षीय अरुणकुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा उत्तेजित स्थानीयवासीले तोडफोड गर्दै आगो लगाइदिएका थिए।

उत्तेजित भीडले आगो निभाउन आएको दमकललाई समेत बाटो छेकिदिएका थिए। परिस्थिति नियन्त्रणका लागि घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।

 

 

प्रकाशित:
2020/11/24, 8:33