सानदार जितसँगै बार्सिलोना नकआउट चरणमा

jordi

एजेन्सी – कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार डिनामो किएभको मैदानमा ४-० को सानदार जित दर्ता गरेको छ ।

लगातार चौथो जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि डेनिस फरवार्ड मार्टिन ब्रेथवेटले दुई गोल र एक असिस्ट प्रदान गरे । सर्जिनो डेस्टले अग्रता दिलाएको बार्सिलोनाका लागि एन्टोइन ग्रिजमनले अन्त्यतिर गोलअन्तर बढाएका थिए । सन् २०१६ यता समूह चरणमा अपराजित रहेको बार्सिलोनाले पछिल्लो २३ खेलमा हार बेहोरेको छैन ।

पहिलो हाफमा दबाब बनाउनका बाबजुद बार्सिलोना अग्रता लिनबाट चुकेको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा ब्रेथवेटको पासमा डेस्टले गोल गर्दै अग्रता दिलाए । त्यसको ५ मिनेटपछि नै डेब्यु गरिरहेका डिफेन्डर ओस्कार मिन्गुएजाको पासमा ब्रेथवेटले अग्रता दोब्बर पारे ।

७० औं मिनेटमा ब्रेथवेटले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ उन्मुख गराएका थिए । ब्रेथवेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै सानदार जित पक्का गरे । उनले जोर्डी अल्बाको पासमा गोल गरेका थिए ।


बार्सिलोनाको जितमा जारि सिजन पहिलो पटक सुरुवाती रोजाइमा परेका फरवार्ड ब्रेथवेटले प्रभावशाली प्रदर्शन गरे । पहिलो गोलमा असिस्ट दिएका उनले दोस्रो गोलमा मिन्गुएजाको फ्लिकलाई नियाँत्रन्म लिँदै गोल गरे । त्यसपछि आफैं पेनाल्टी जितेका उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

मुख्य डिफेन्डर जेरार्ड पिकेको अनुपस्थितिमा डेब्यु गरेका २१ वर्षीय मिन्गुएजाले पनि राम्रो प्रदर्शन गरे । युवा खेलाडी फ्रान्सिस्को त्रिन्काओ, जुनिअर फिर्पो र कार्लेस एलेनाको प्रदर्शन पनि लोभलाग्दो थियो । बार्सिलोनाले युवा खेलाडीलाई प्राथमिकता दिँदै उतारेको पहिलो रोजाइ सन् २०११ डिसेम्बर यता नै सबैभन्दा कम उमेरको थियो ।

यस जितसँगै बार्सिलोनाले नकआउट चरणमा स्थान पक्का गरेको छ । ४ खेलमा ४ जितसहित १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्टसको ९ अंक रहेको छ । किएभ र फेरेन्कभारोसको १-१ अंक छ ।

प्रकाशित:
2020/11/25, 9:07