क्रिकेटका कप्तान र उपकप्तान सहितका खेलाडीलाई कोरोना सङ्क्रमण

सुदूर प्रेस संवाददाता

काठमाडौँ–राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । कप्तान ज्ञानेन्द्रले फेसबुक मार्फत आफूमा संक्रमण देखिएको जानकारी दिएका छन् ।

मंगलबार बन्द प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्य १६ खेलाडीको पिसिआर परिक्षण भएको थियो । मंगलबार पिसिआर परिक्षण भएका १६ खेलाडीको रिपोर्ट नेपाल क्रिकेट संघ(क्यान) ले भने गोप्य राखेको छ । मंगलबार क्यानले टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।

जसमा सबैको रिपोर्ट क्यानले बताएको छैन । मंगलबार भएको पिसिआर परिक्षणमा शरदसँगै युवा ब्याट्सम्यान कुशल मल्ल, ओपनर सुवास खकुरेल, तीव्र गतिका बलर करण केसी, स्पिनर सन्दीप लामिछाने र अनुभवी स्पिनर वसन्त रेग्मी सहभागी थिएनन् । ज्ञानेन्द्रमा कोरोना संक्रमण देखिएसँगै बिहिबार देखि सुरु हुने भनिएको प्रशिक्षण अनिश्चित बनेको छ ।

यस्तै उप कप्तान दीपेन्द्र सिंह ऐरी, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र चालक प्रदीप लामा गरि कुल चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले टोलीका चार सदस्यमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । तीन खेलाडी र चालक प्रदीप लामा गरि कुल चार जनालाई कोरोना संक्रमण पुष्टि भएको क्यानले जनाएको छ ।

मंगलबार क्यानले टीयू मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक ब्यवस्थापक बिक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।

जसमा चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । क्यानले यी चारै जना आइसोलेसनमा बस्ने र ठिक भएपछि प्रशिक्षणमा फर्किने जनाएको छ । क्यानले यी चार जनामा कोरोना संक्रमण देखिएसँगै थप पाँच जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको क्यानले जनाएको छ । बन्द प्रशिक्षण भने बिहिबारदेखिनै सुरु हुने क्यानले जनाएको छ ।

प्रकाशित:
2020/11/25, 9:03