सन्दीप लामिछानेलाई कोरोना संक्रमण

सुदूर प्रेस संवाददाता

 धनगढी–नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ ।

सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ‌। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परिक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेका छन् । उनमा हल्का लक्षण देखिएको छ ।


यसअघि मंगलबार १६ खेलाडीको पिसिआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो । तर खेलाडीमा कुनै लक्षण नदेखिएपछि डाक्टरको सल्लाहमा पुनः पिसिआर परिक्षण गरिएको थियो । शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको छ । टोलीका कार्यबाहक व्यवस्थापक विक्रम न्यौपानेले शनिबार यी तीनै जना खेलाडी बन्द प्रशिक्षणमा सामेल हुने बताएका छन् ।

बिहिबार देखि बन्द प्रशिक्षण थाल्नुअघि १६ खेलाडीको पिसिआर परिक्षण गरिएको थियो । जसमा तीन खेलाडीमा पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । नेपालले आगामी सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बन्द प्रशिक्षण थालेको छ । सुरुवाती २२ र पछि पाँच थप गरि कुल २७ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

उक्त तीन खेलाडीको सम्पर्कमा आएका सन्दीप जोरा, अभिनाश बोहरा, कमल सिंह ऐरी, राशिद खान, किशोर महतो र कुशल भुर्तेललाई होटलको आइसोलेसनमा राखिएको थियो । यी ६ खेलाडीको रिपोर्टबारे भने क्यानले कुनै जानकारी गराएको छैन । पहिलो दिन पारस खड्का, सोमपाल कामी, विनोद भण्डारी, सुशन भारी, ललित नारायण राजवंशी, पवन सरार्फ, भुवन कार्की, आरिफ शेख र अनिलकुमार शाह अभ्यासमा सहभागी थिए ।

प्रकाशित:
2020/11/28, 6:31