गिरफ्तार गरिएका नेता रामचन्द्र पौडेल रिहा

Corona Update
सुदूर प्रेस संवाददाता

तनहु–निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो ।

पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले पौडेलसहित आफूहरुलाई रिहा गरिएको बताए । 

व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो । आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएको तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले बताएका छन् ।

सभापति आलेले पौडेललाई रिहा गरिएसँगै अहिले दमौली क्षेत्रमा गरिएको पृथ्वी राजमार्गको अवरोध पनि रातिदेखि हट्ने बताए । उनले सत्तारुढ नेकपाले आफ्ना कार्यकर्ता परिचालन गरी झडपको स्थिति बनाइ त्यसैलाई निहुँ देखाएर पक्राउ गरिएको पनि बताए ।

प्रकाशित:
2020/12/02, 6:40