पश्चिम सेती निर्माणका लागि दबाब दिन बैतडीमा डोको आन्दोलन

सुदूर प्रेस संवाददाता

बैतडी–चर्चित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि दबाब दिन बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा ७५० डोको राखेर आन्दोलन गरिएको छ।

राष्ट्रिय गौरवको आयोजना अन्योलमा परेको भन्दै बोलन्या थलीले सोमबार 'डोटीका सपनाका ७५० डोका' आन्दोलन गरेको हो। 

७ सय ५० मेगावाटको यस जलविद्युत आयोजना कार्यान्वयन हुन नसकेको भन्दै विरोधस्वरुप विरोधको नयाँ शैली अपनाइएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। यस सभामा डडेल्धुरा, डोटी र बैतडीबाट डोकासहित प्रदर्शनकारी उपस्थित भएका थिए। 

प्रदर्शनकारीहरुले ‘आश्वासनका ३८ वर्ष पश्चिम सेती कहिले बन्छ’, ‘मृत सपना जिन्दा गर, पश्चिम सेती लागु गर’, ‘सरकार बनाउँछौँ मात्र भन्छ, पश्चिम सेती कहिले बन्छ’ लगायत नारा लगाएका थिए।

‘सरकारले बनाउछौँ बनाउछौँ भन्ने आश्वासन मात्र दिँदै आएकोले अब पनि राज्यले पश्चिम सेती निर्माण नगरे लडाकु दस्ता जस्ता तयार पारेर संघर्ष गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन्।

यसअघि पनि पश्चिम सेती निर्माणका लागि यसले डोटीको दिपायलस्थित सेती पुलमाथि ७५० टुकी बालेर सरकारको ध्यानाकर्षण गराएको थियो। 

पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेशबाट १ लाख चिठ्ठी संकलनसमेत गरिरहेको र ७५० डोकामै १ लाख चिठ्ठी संकलन गरेर सरकारलाई बुझाउने थलीले जनाएको छ। 

लामो समयदेखि पश्चिम सेती चर्चामा रहे पनि हालसम्म पनि निर्माणको बढ्न सकेको छैन्। 

प्रकाशित:
2020/12/07, 7:01