बार्सिलोनाको मैदानमा युभेन्टसको सानदार जित

ronaldo
सुदूर प्रेस संवाददाता

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमा ३-० को जित दर्ता गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन मकेनीले १ गोल गरे ।


खेलको १३ औं मिनेटमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र रोनाल्ड अरौजोले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

२० औं मिनेटमा युभेन्टसले अमेरिकी मिडफिल्डर वेस्टन मकेनीको गोलमा अग्रता दोब्बर पार्यो । जान क्वाडराडोको क्रसलाई मकेनीले सानदार भली प्रहार गर्दै गोलरक्षक टेर स्टेगनलाई बचाउने कुनै अवसर दिएनन् ।

२५ औं मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा अल्भारो मोराटाको हेडरले पोस्टको दिशा लिन सकेन । ३० औं मिनेटमा मिरालेम प्यानिचको प्रहार बाहिरिंदा बार्सिलोनाले खेलमा फर्कन सकेन ।


क्याम्प नोउमा दोस्रो हाफको सुरुवातमै युभेन्टसले अर्को पेनाल्टी पायो । क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई रोनाल्डोले ५२ औं मिनेटमा गोलमा परिणत गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए ।

५८ औं मिनेटमा मेस्सीको फ्रिकिकमा एन्टोइन ग्रिजमनको हेडर क्रसबारमा लाग्दै बाहिरियो । त्यसको केहिबेरमै म्यथिस डी लिग्टले ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पेनाल्टी दिएका थिए । तर भिएआरमा ग्रिजमन अफसाइड देखिएका थिए ।


७५ औं मिनेटमा युभेन्टसले अग्रता थप फराकिलो पारेपनि भिएआरमा उक्त गोलले मान्यता पाएन । लिओनार्डो बोनुचीले बललाई पोस्टभित्र छिराएपनि उनी रोनाल्डोको प्रहारअघि नै बलको पोजिसनभन्दा अघि पुगेका थिए ।

यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । युभेन्ट्स र बार्सिलोना दुवैको ६ खेलमा १५ अंक भएपनि हेड टु हेडमा युभेन्टस अघि रहेको हो ।

यस समूहको तेस्रो स्थानमा भने डिनामो किएभ रहयो । किएभले घरेलु मैदानमा फेरेन्कभारोसलाई १-० ले पराजित गर्दै ४ अंक सहित तेस्रो स्थानमा रहयो । फेरेन्कभारोस १ अंक जोड्दै पुछारमा रहयो ।

प्रकाशित:
2020/12/09, 7:47