आजको बैठकमा देउवा उपस्थित नहुने भएपछि संवैधानिक परिषद् बैठक अनिश्चित

Deuba
सुदूर प्रेस संवाददाता

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ ।


अस्ति शुक्रबार देउवासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिषद्को बैठक बोलाउनुभएको थियो । तर हिजो देउवाले आफू पार्टी कार्यक्रमका कारण बैठकमा आउन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई गराउनुभएको छ । 

देउवाले पार्टीको कार्यक्रमले आफू उपस्थित नहुने बताए पनि सत्तारुढ दलभित्रको अन्तरसङ्घर्ष र भागबण्डा नमिल्दा संवैधानिक परिषद्को बैठक अनिश्चित बनेको हो । कांग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरु निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने अडान लिएको छ ।

यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाभित्रको विवाद हल नभएसम्म परिषद् बैठकमा नजान देउवासँग आग्रह गरेको बुझिएको छ । यही कारण देउवाले संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने निर्णय लिनुभएको स्रोतले जनाएको छ ।

परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र ४ आयुक्तको पद रिक्त छ ।

यस्तै समावेशी आयोगमा अध्यक्ष र ३ आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र ४ आयुक्त, मधेसी आयोगमा ४ आयुक्त, थारू आयोगमा ४ आयुक्त र मुस्लिम आयोगमा ४ आयुक्तको नियुक्ति हुन बाँकी छ ।

प्रकाशित:
2020/12/13, 7:24