दाहाल-नेपाल समूहद्वारा नवनियुक्त मन्त्री चौधरीको धनगढीमा पुत्ला दहन

सुदूर प्रेस संवाददाता

धनगढी –नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको निर्वाचन क्षेत्रमा नेकपाको दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले धोका दिएको भन्दै पुत्ला दहन गरेका छन् । उनले शुक्रबार मन्त्री पदको शपथ लिएका हुन् ।

दाहाल–नेपाल पक्षधर समूहले कैलाली क्षेत्र नम्बर ३ को हसुलियामा शनिबार प्रर्दशन गर्दै मन्त्री चौधरीको पुत्ला दहन गरेका हुन् । सुरुमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकोमा चर्को विरोध गरेका चौधरी एकाएक कार्यकर्ताको भावनाविपरीत ओली पक्षमा पुगेर मन्त्रीसमेत भएपछि कार्यकर्ताहरुले धोका भएको भन्दै रुष्ट भएका हुन् ।

मन्त्री चौधरीले संसद् विघटन गरिएको दिन पुस ५ गते हसुलियामा भएको दाहाल–नेपाल पक्षको भेलामा सहभागी भएर ओली कदमको चर्को आलोचना गरेका थिए । उनी तत्कालीन एकीकृत नेकपा माओवादीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

‘सुरुमा कार्यकर्ताहरुसँग संसद् विघटन गर्ने ओली कदमको चर्को विरोध गर्दै सबैलाई ठिक्क पार्नु भयो,’ कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले भने, ‘यता एउटा कुरा गरेर आफू सुटुक्क काठमाडौं पुगेर मन्त्री पद थापेपछि कार्यकर्ताहरु उनीप्रति आक्रोसित भएर पुत्ला दहन गरेका हुन् ।’ उनले मन्त्री चौधरीलाई हिम्मत भएर आफूसँग चुनाव लडेर देखाउन पनि चुनौती दिए ।

प्रकाशित:
2020/12/26, 8:08