सङ्कटमा सुदूरपश्चिम प्रदेश सरकार

सुदूर प्रेस संवाददाता

धनगढी–नेकपा विभाजनको प्रभाव प्रदेशसभामा पनि पर्न थालेको छ । सुदूरपश्चिममा पनि प्रदेश सांसदले समूह परिवर्तन गर्ने क्रम बढेको छ । दाहाल–पक्षका १३ जना प्रदेशसभा सदस्य ओली पक्षतिर जानेबित्तिकै सरकार अल्पमतमा पर्छ । खुलेरै ओली पक्षमा गइसकेका प्रदेश सांसदहरू भौतिक योजनामन्त्री पठानसिंह बोहरा, सांसद रतन थापा, लीलाधर भट्ट, नेपालु चौधरी र महेशदत्त जोशी छन् । उनीहरू सबैलाई ओलीले केन्द्रीय सदस्य बनाइसकेका छन् । बाहिर खुलिनसके पनि अन्य पाँच सांसद आफ्नो पक्षमा आइसकेको ओली समूहको दाबी छ । ‘शुक्रबारसम्म हाम्रो पक्षमा १० जना प्रदेश सांसद हुनुहुन्छ,’ ओलीपक्षीय एक सांसदले भने ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपाका ३९, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जनासहित ५३ सांसद छन् । सरकार टिकाउन २७ जना चाहिन्छ । ‘अबको २/३ दिनमा प्रदेश सरकार पक्षका र प्रधानमन्त्री ओली नेतृत्वको समूहमा जानेहरूको कित्ताकाट प्रस्ट हुनेछ,’ एक मन्त्रीले भने, ‘ओली समूहमा सुरुमा ३ जना मात्र खुलेका थिए, यो संख्या दिनहँ‘ बढ्दै गएको छ ।’ मुख्यमन्त्रीसँग बजेट बाँडफाँटका बेलादेखि असन्तुष्ट रहँदै आएका प्रदेशसभा सदस्यहरूले अहिलेकै स्थितिमा सरकारलाई समर्थन नगर्ने भनिरहेका छन् । उनीहरूलाई पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगको निर्णय के हुन्छ भन्ने चासो छ । त्रिलोचन भट्ट नेतृत्वको सरकार अल्पमतमा पर्‍यो भने सरकार गठनका लागि दुवै पक्षलाई कांग्रेसको साथ आवश्यक पर्छ । कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले राजनीतिक धु्रवीकरण सुरु हुने बताउँछन् । ‘सरकार अल्पमतमा पर्‍यो भने कुन पक्षलाई सहयोग गर्ने भन्ने निर्णय पार्टीले गर्नेछ,’ उनले भने ।

प्रकाशित:
2020/12/27, 9:31