प्रदेश १ का तीन मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

sankat ma sarkar
सुदूर प्रेस संवाददाता

मोरङ–प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपामा निम्तिएको विभाजनको असर प्रदेश १ सरकारमा पनि देखिएको छ । नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर तीन मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् । 

सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको मन्त्री घिमिरेका स्वकीय सचिव तिलकबहादुर बस्नेतले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गजमेरलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए तर उनले त्यसलाई अस्वीकार गर्दै दाहाल–नेपाल पक्षमा बस्ने निर्णय गरेकी थिइन् ।

यसैबीच दाहाल–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आज (आइतबार) मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् । प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।

मन्त्री पदबाट बर्खास्त भएका आङबोले आफ्ना पक्षका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने निर्णय गरेको तर मुख्यमन्त्रीले आफैं पदबाट हटाएर अविश्वासको प्रस्ताव दर्ता गराउन मार्ग प्रशस्त गरिदिएको बताए । ‘मुख्यमन्त्रीको कदमलाई प्राकृतिक प्रक्रियाको रुपमा लिएको छु,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले गरेको संसद् विघटनको पक्षमा भएको अवस्थामा विचारै फरक भइसकेपछि मन्त्रिमण्डलमा बसिरहने औचित्य पनि थिएन ।’

प्रकाशित:
2020/12/27, 9:44