धनगढीमा नेकपा दाहाल–नेपाल पक्षको गुट भेला,ओली विरुद्ध खनिए भीम रावल

bhim
सुदूर प्रेस संवाददाता

धनगढी — धनगढी–नेकपा दाहाल–नेपाल पक्षले कैलालीमा गुट भेला लाई तीव्र बनाएका छन् । दिनहुँ जसो धनगढीमा उनीहरूको भेला भइरहेको छ । ओली सरकार विरुद्धको मोर्चा बन्दी र प्रदेश सरकार हेरफेर गर्ने तयारीमा नेताहरु दौडधुपमा लागेको एक नेताले बताए । यस्तै आइतबार धनगढीमा भएको भेलालाई नेता भीम रावलले सम्बोधन गरे । 

नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको चुनाव गराउने योजना नरहेको दाबी गरेका छन् । उनले भने, ‘प्रधानमन्त्री ओलीले चुनाव गराउने उद्देश्यले संसद विघटन गरेकै हैनन् ।’


धनगढीमा आइतबार अपरान्ह्र नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रश्न गरे, ‘ओली कस्ता प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन्, जसले आफ्नै पार्टीभित्र जालझेल गर्छन्, संविधानमा कुनै व्यवस्था नभए पनि बलजफ्ती संसद् विघटन गर्छन्, आफै पार्टी फुटाउँछन् र पार्टी कार्यकर्ताहरुमाथि विश्वासघात गर्छन् ।’

पार्टीको स्थायी कमिटीको निर्देशन उल्लंघन गर्नुको कारण पार्टी विभाजन गर्ने मनस्थिति रहेको अहिले आएर पुष्टि भएको उनको भनाइ थियो । ‘यसअघि नै अध्यादेश ल्याउन खोज्नु यसकैका लागि रहेछ भन्ने त बल्ल बुझियो’ उनले भने । रावलले अगाडि भने, ‘सामन्तहरुसँग बालुवाटारमा मध्यराति भेट्नुका रहस्यहरु पनि विस्तारै खुल्दैछन् ।’ उनले अबको लडाइँ संविधान, वर्तमान व्यवस्था तथा विधि प्रणालीका पक्षधर र कानुन नमान्ने तथा निरंकुश चरित्र व्यवहार भएकाहरुबीच हुने बताए ।

कसले आधिकारिता प्राप्त गर्ने भन्ने उल्झन कायमै रहेका बेला नेता रावलले आफू पक्षधरले नेकपाको आधिकारिकता प्राप्त गर्नेमा कुनै शंकै नरहेको दाबी गरे । उनले भने, ‘उहाँहरु पक्षमा वैधानिक केन्द्रीय सदस्यहरुको संख्या २८ प्रतिशतभन्दा कम छ । त्यसैले उहाँहरुले वैधानिकता पाउने कल्पना पनि नगरे भो । आयोगले संख्या नपुगेको पक्षलाई वैधानिकता दिने प्रश्नै छैन ।’

प्रकाशित:
2020/12/28, 7:52