प्रचण्ड–माधव समूहले आज धनगढीमा पनि विरोध प्रदर्शन गर्दै,भीम रावलले सम्बोधन गर्ने

Bhim rawal
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने  नेकपाको तयारी छ । धनगढीमा दिउँसो १२ बजे ट्राफिक चौराहाबाट प्रदर्शन सुरु हुने छ । पार्क चौकमा कोण सभा हुने छ । सभालाई पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम रावल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाका जिल्ला सदस्य विमल जोशीले जानकारी दिए । 

उता केन्द्रीय राजधानी काठमाडौँको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ ।

बिहान ११ बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छन् ।

यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।

 

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड(माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग पनि नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा छ ।

प्रकाशित:
2020/12/29, 10:55