भीम रावलको स्पष्टोक्ति : ३० लाख अर्को खातामा सारिएको छ

Bhim rawal
सुदूर प्रेस संवाददाता

धनगढी–नेकपा (दाहाल–नेपाल) समूहका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले नेकपा प्रदेश कार्यालयको ३० लाख अर्को खातामा सारिएको बताएका छन्। 

शुक्रबार धनगढीमा आयोजित प्रदेश कमिटीको चौथो बैठकमा नेता रावलले तत्कालीन अध्यक्ष कर्ण थापा र सचिव नेपबहादुर चौधरीको नाममा रहेको खाताबाट ३० लाख रकम झिकेर अर्को खातामा राखेको बताए।

‘प्रदेश कार्यालयको खाता सञ्चालन गर्ने क्रममा प्रदेश कमिटी सचिव र कार्यालय सचिवले काम विशेषले आफ्नो आवश्यकताअनुसार अर्को खातामा पठाउने र केही रकम पार्टीको काममा खर्च गरेका छौ’, उनले भने। 

पार्टीको विधानअनुसार बढेका छौं, 'तत्कालीन अध्यक्ष थापा र केपी गुटका कार्यकर्ताले उक्त विषयलाई गालीगलौज गर्ने, सचिवलाई धम्क्याउने कार्य गरेका नेता रावलले बताए। यस्ता अराजक गतिविधि गर्दैमा आफ्ना गतिविधि नरोकिने पनि उनले स्पष्ट पारे।

‘गुण्डागर्दी शैली देखाएर केही नहुनेवाला छैन् रावलले भने, 'हाम्रो पार्टीको विधि र प्रक्रियाअनुसार भएको छ, त्यसमा गाली गर्ने धम्क्याउने गरेर केही हुनेवाला छैन।’ 

यस्तै थप प्रसंगमा बोल्दै नेता रावलले छलकपट र अपराधिक मनस्थितिका ओली ‘लौरी हालि झ्यौरी गर्ने’ चरित्रको भएकाले साथ छोडेको बताए। दुई ठूला कम्युनिस्ट पार्टी एकीकरणमा भएका समझदारी हुन् वा पार्टी विवाद समाधान कार्यदलको प्रतिवेदन, कसैलाई पनि नमानेर ‘म नै राज्य हुँ’ भन्ने अहंकारी भावनाले पार्टी फुटाएको उनले आरोप लगाए।

यस्तै काठ तस्करीको मुद्दा लागेका मान्छेलाई नै वनमन्त्री बनाएको प्रति उनले आक्रोश पोखे। नवनियुक्त वनमन्त्री प्रेम आलेका मुद्दा अदालतमा दर्ता भएका र काठ तस्करीका मिसिल बाहिर आएको उनले बताए। ‘ओली समूहका सबै मन्त्री उस्ताउस्तै हुन्छन्, एक सञ्चार मन्त्रीले ७० करोड कमिसन माग्दा बचाउ गर्ने ओलीले नयाँ नियुक्त गरेका मन्त्रीहरु पनि उस्तै छन्।’

यस्तै राष्ट्रपतिले पदीय मर्यादा मिचेको पनि उनले आरोप लगाए। राष्ट्रपतिको पदमा बसेर ओली गुट चलाउनेबाहेक केही गर्न नसकेको उनको भनाइ थियो।प्रधामन्त्रीले नेकपाका कार्यकर्तालाई रुवाएर यस्तो कदम चालेको बताए। 

देश कोरोना महामारीमा जुधिरहेका बेला, जनमतको अपमान गर्दै पुनः चुनाव गराउन खोजेको भन्दै उनले आक्रोश पोखे। नेता रावलले प्रधानमन्त्री ओलीले विदेशी एजेन्टसँग गोप्य वार्ता गर्दै देशको स्वाधीनतामाथि आँच आउने काम गरेको आरोप पनि लगाए।

निर्वाचन आयोगमा आफूहरुको स्पष्ट बहुमत भएकाले सूर्य चिह्न पनि आफ्नै भएकाले चोइटिएर गएकाहरुले आश नगर्न चेतावनी दिए। 

प्रकाशित:
2021/01/01, 8:06