दाहाल-नेपाल समूहलाई ओलीको आग्रह : पार्टी बैठकमा आउनुस्, अपराध क्षमा गरिदिउँला

kp oli
सुदूर प्रेस संवाददाता

काठमाडौँ — नेकपा (ओली पक्ष) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षहरू (दाहाल-नेपाल पक्ष) पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीका बैठकमा फर्किन आग्रह गरेका छन् । आफूनिकट विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौंमा भएको भेलामा ओलीले पार्टीका बैठकमा फर्किए दाहाल-नेपाल पक्षले गरेका 'अपराध'  क्षमा गरिदिने बताएका हुन् । 


प्रतिनिधिसभा विघटनपछि फुटउन्मुख भएको बेलादेखि नै ओलीले दाहाल र नेपाललाई पार्टी बैठकमा फर्किन आग्रह गर्दै आएका छन् । यसअघि शनिबार काठमाडौंमा भएको बैठकमा पनि उनले दाहाल र नेपाल पक्ष पार्टीका बैठकमा फर्किए स्वागत गर्ने बताएका थिए ।

विद्यार्थीहरूको आइतबारको भेलामा ओलीले भने, 'पार्टीका मिटिङमा आउनुस् । तपाईंहरूले गरेका अपराध क्षमा गरिदिउँला ।' दाहाल-नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको छ । तर ओलीले भने दाहालको कार्यकारीको हैसियत खारेज गरेका छन् । ओलीले सोही कुराको स्मरण गर्दै थपे, 'कार्यकारी भन्ने मैले दिएको थिए । कार्यकारी दिँदा अत्यन्तै उपद्रो मच्चाउनुभयो । मैले हटाइदिएको छु । अध्यक्षको पद कायमै राखेको छु, वरिष्ठ नेताहरूको पद कायमै राखिदिएको छु । प्रवक्ता भन्ने पद थियो चकचक गर्नुभयो त्यै भएर हटाइएको छ । सचिवालय सदस्य कायमै छ । आफ्नै साथीहरूले गरेको उपद्रो क्षमा गर्न सकिन्छ ।'

ओलीले १०-१५ प्रतिशत व्यक्तिहरू निर्वाचन आयोग र सर्वोच्च अदालत गएको भन्दै व्यंग गरेका थिए । उनले आफूसँग बहुमत रहेको र केही व्यक्तिहरू आफू बहुमत भनेर हिँड्दै गरेको भनेका हुन् । पार्टी बैठकमा आएर भाग लिन छोडेर विभिन्न ठाउँमा गएर आफू बहुमत भएको दाबी गर्दै हिँडेको भन्दै दाहाल र नेपाल पक्षको उनले आलोचना गरेका थिए ।

झन्डै दुई तिहाई बहुमत पार्टीले प्राप्त गर्दा पनि आफ्नै दलका नेताहरूले सरकारको आलोचना गर्ने गरेकाले र सरकारका राम्रा कामको प्रसंशा नगरेकाले संसद विघटन गर्नुपरेको ओलीको भनाइ थियो । उनले परिवार, नातागोता मात्रै हेर्ने संसदभन्दा पनि 'तेज तर्रार' सांसद ल्याउनका लागि निर्वाचनको घोषणा गरिएको बताए ।


सभामुख अग्निप्रसाद सापकोटा किर्ते कामको साक्षी बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले आफूविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर सभामुख सापकोटाले किर्ते कामको साक्षी बस्ने काम गरेको तर संसद सचिवालयले सही कुरा देखाइदिएको धारणा राखे । संसदीय प्रणालीको तमासा गरेको र हुर्मत लिएकाले पनि संसद विघटन गरेर ताजा जनादेशमा जानुपरेको ओलीको भनाइ थियो ।

ओलीले संसद मरिसकेको भन्दै त्यो नबैरिने बताए । सर्वोच्च अदालतमा उक्त विषयमाथि बहस भइरहेका बेला ओलीले संसद कुनै हालतमा पनि नब्युँतिने र बैशाख १७ र २७ गते चुनाव भइछाड्ने बताए । संसद विघटन गरेर सरकारले घोषणा गरेको चुनाव कसैले पनि रोक्न नसक्ने ओलीको भनाइ थियो । उनले भने, 'कतिपय व्यक्ति, शक्तिहरूले भ्रम फिजाउन खोजेका छन् । भ्रममा नपर्नुस्, चुनाव वैशाख १७ र २७ गते हुन्छ । यस चुनावलाई टाल्न, पर सार्न, अल्मल्याउन कसैले सक्ने छैन । यो मुलुकको जनताको आवश्यकता हो ।'

अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा चलिरहेको र ती मुद्दाहरूमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको दाबी थियो, 'संसद पुनःस्थापना गर्न संविधान र कानुनले मिल्दैन । मरिसकेको संसद बौरिँदैन । संसद विघटन भयो भयो, नयाँ चुनाव हुन्छ हुन्छ । देशलाई अलमलमा राख्न मिल्दैन ।'

ओलीले चुनाव चिह्न सूर्य आफू नेतृत्वको पार्टीलाई नै मिल्ने बताए । उनले अत्यधिक बहुमत आफ्नो पक्षमा रहेको भन्दै चुनाव चिह्न सूर्य आफ्नै पक्षमा रहेकोमा आशंका नगर्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।

प्रकाशित:
2021/01/03, 7:26