मासु नपकाएको निहुँमा गोदावरीमा श्रीमानले गरे श्रीमतीको हत्या

hatya
सुदूर प्रेस संवाददाता

काठमाडौँ–ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचो घर भई कालिमाटी बस्दै आएकी २२ वर्षीया मीरा सुन्दास परियारको श्रीमान सुरजसँग दिनहुँजसो झगडा परिरहन्थ्यो ।

दैनिक मादक पदार्थ सेवन गरेर आउने श्रीमानले दुःख दिएको उनले आफन्तहरुलाई पनि बताउने गरेकी थिइन् ।

शुक्रबार राति सुरज करिब साढे ११ बजेतिर डेरामा आए । आउनेवित्तिकै मासु नपकाएको भन्दै कराउन थाले । दिनभरि फलफूल पसलमा काम गरेर फर्किएर खाना बनाएकी उनी श्रीमानको गाली सुनेपछि रिसाइन् । रिसकै झोँकमा मर्छु भनिदिइन् ।

सुरजले ल मर.. भन्दै घाँटीमा सल बाँधिदिन थालेपछि बोल्नै सकिनन्, त्यही प्राण त्यागिन् ।

श्रीमतीले सास फेर्न छाडेपछि सुरज झसंग भए । हतास मनस्थितिमा बाहिर निस्किएका उनले चाबी लगाए । प्रहरीका अनुसार ढोकामा बाहिर र भित्र दुवैतिरबाट चाबी लगाउन मिल्थ्यो ।

त्यसपछि भेन्टिलेसनबाट चाबी कोठामै फ्याँकिदिए । अनि, श्रीमतीले फोन नउठाएको र लडिरहेको देखिएको भन्दै दिदी रुपा सुन्दासलाई फोन गरे ।

सुरुमा उनले श्रीमतीले आत्महत्या गरेको देखाउन खोजेको पाइएको महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहरा बताउँछन् । उनले  भने, ‘तर, हामीले गएर हेर्दा झण्डिएको जस्तो देखिने वा आत्महत्या गरिएको कुनै संकेत थिएन ।’

तत्कालै सुरजलाई पक्राउ गरेर प्रहरीले हिरासतमा लियो । सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकारेका छन् ।

प्रकाशित:
2021/01/04, 10:23