कञ्चनपुरका सरकारी कार्यालयमा छडके अनुगमनः पोसाक नलगाउने कर्मचारीको भत्ता रोक्न विभागमा पत्राचार

kanchanpur
सुदूर प्रेस संवाददाता

कञ्चनपुर – कार्यालय समयमा पोसाक नलगाउने कर्मचारीको पोसाक भत्ता रोक्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले विभागमा पत्राचार गर्ने तयारी गर्नुभएको छ । कार्यालयहरू सेवाग्राहीमैत्री नभएको भन्ने गुनासो आएपछि आफै अनुगमनमा निस्किनुभएका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पोसाक नलगाउने कर्मचारीको भत्ता रोक्न विभागमा पत्राचार गर्ने तयारी गर्नुभएको हो । 


उहाँले आइतबार जिल्लाको मालपोत तथा भूमि सुधार कार्यालय र नापी कार्यालयमा अनुगमन गर्नुभएको थियो । 

निरीक्षणका क्रममा मालपोत कार्यालयमा कार्यालय प्रमुखबाहेक कुनै पनि कर्मचारीले पोसाक लगाएका थिएनन् भने नापी कार्यालयमा कार्यालय प्रमुखसहित कुनै पनि कर्मचारीले पोसाक नलगाएको पाइएको प्रमुख जिल्ला अधिकारी महतोले बताउनुभयो । 

यस्तै, कतिपय कर्मचारीले हाजिरीमा केरमेट गरेको, भोलिपल्टको हाजिरीसमेत अघिल्लो दिन गरेको र पूर्वस्वीकृति विना कार्यालयमा अनुपस्थित रहेको पाइएको थियो भने कर्मचारीमा समयको पालना, अनुशासित तथा आचरणयुक्त नभएको, सेवाग्राहीमैत्री वातावरण नरहेको पाइएको थियो । 

यसअघि समेत आफूले सहायक प्रमुख जिल्ला अधिकारीलाई सबै कार्यालयहरुको अनुगमन गर्न लगाएको बताउँदै त्यसपछि पनि सेवाग्राहीको गुनासो आएकाले आफै निरीक्षणमा गएको महतोले बताउनुभयो । 

प्रकाशित:
2021/01/31, 7:06