सर्वोच्चको फैसलाले देशमा राजनीतिक अस्थिरता पैदा गर्‍यो : मन्त्री भट्ट

Lekhraj bhatta
सुदूर प्रेस संवाददाता

मकवानपुर –उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेर देशमा राजनीतिक अस्थिरता पैदा गरिदिएको बताएका छन् ।

शुक्रबार हेटौंडा–१४ स्थित मयुरधापमा औद्योगिक क्षेत्रको उद्घाटन गर्दै उनले उक्त धारणा राखेका हुन् । उनले आफ्नो पार्टीभित्रै षड्यन्त्र र प्रतिपक्षी जन्मिएपछि बाध्य भएर जनतामा जाने निर्णय सरकारले गरेको गरेको दाबी गरे । ‘पार्टीभित्र ध्वंस गर्ने र आगो लगाउने काम भयो । जसको कारणले गर्दा स्थिर सरकार हुने अवस्था रहेन । सरकारको काम अस्तव्यस्त बन्यो । त्यसकारण बाध्य भएर प्रतिनिधिसभा भंग गरिएको हो ।’, मन्त्री भट्टले स्थिर सरकार अहिलेको आवश्यकता रहेको बताए ।


सर्वोच्च अदालतको फैसला मान्ने र तोकिएको समयमा सदन सरकारले आव्हान गर्ने बताए । ‘सर्वोच्चले हाम्रो पक्षमा फैसला गर्‍यो भनेर लड्डु बाँड्नु पर्दैन । हामी पुस ४ को अवस्थामा पुगेका मात्र हौं । अब सदनभित्रै हामी लड्ने छौं ।’, उनले अब सांसद र राजनीतिक दलहरु लोभमा विभाजन हुन सक्ने अनुमान गरे ।

उनले अहिले दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाडेको खण्डमा एकता हुने भन्दै आफूलाई सन्देश पठाइरहेको बताए । ‘प्रधानमन्त्रीले कुनै पद छाड्नुहुन्न । हामी निर्वाचनमा जाने अवस्था सिर्जना गर्छौं ।’, मन्त्री भट्टले अहिलेको मांसाहारी आन्दोलन गर्ने समय नभएको टिप्पणी गर्दै साकाहारी बनेर देश विकासको दिशामा अगाडि बढ्न जरुरी रहेको औंल्याए ।

प्रकाशित:
2021/02/26, 7:20