वनमन्त्री आलेको दाबीः वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न एक अर्बको प्रलोभन

prem ale
सुदूर प्रेस संवाददाता

काठमाडौँ–वन तथा वातावरण मन्त्री प्रेम आले मगरले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको दाबी गरेका छन् ।

मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन आएको बताएका हुन् ।

११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।

आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही बदमास कर्मचारीले भेट्न प्रयास गरेको मन्त्री आलेले बताए । ‘जुन दिन पद वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायी, वनका केही बदमास कर्मचारीले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिन । हामी १ अर्ब पैसा उठाएर दिन्छौं भन्ने कुरा पनि आयो । तर मैले मुखमा कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरेँ’ उनले भने ।

वैज्ञानिक वन कार्यक्रमका नाममा वन फडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई बदनाम पार्ने काम भएकाले प्रधानमन्त्रीले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएको उनको दाबी छ ।

आफू प्रतिनिधिसभाको लेखा समितिमा रहँदा उपसमितिमा बसेर वैज्ञानिक वन कार्यक्रमबारे अध्ययन गर्दा पनि जिल्ला वन अधिकृत, क्षेत्रीय निर्देशक, काठ व्यवसायी कर्मचारीलगायतले प्रलोभन देखाएको उनले बताए । मन्त्री आलेले वन नियमावली बनाउँदा सरोकारवालाहरुसँग परामर्श गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

प्रकाशित:
2021/03/02, 6:06