प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

oli biplop
सुदूर प्रेस संवाददाता

काठमाडौँ–सरकार र प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। हिजो भएको सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको वार्ता सफल भएको छ। 

दुई पक्षबीच तीन बुँदे सहमति भएको छ। विस्तृत सहमति आज नै प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक गर्नेछन्।  औपचारिक वार्ता शुरु भएको दोस्रो दिनमै सरकार र विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीबीच सहमति भएको हो। तीन बुँदे सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन्।। 

सरकारले विप्लव नेकपा माथि दुई वर्ष अघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। आजै थुनामा रहेका नेता कार्यकर्ता रिहा हुने छन्।  प्रतिबन्धपछिको २ वर्षमा विप्लव नेकपाका २ हजार भन्दा बढी नेता कार्यकर्तालाई मुद्दा लागेको छ त्यो पनि खारेज हुने भएको छ।

जेलमा रहेको विप्लव नेताहरु हेमन्तप्रकाश ओली, धर्मेन्द्र बाँस्तोला, माईला लामालगायत १ सय ३६ जना नेता कार्यकर्ता थुनामुक्त हुँदै छन्।  त्यस्तै विप्लव समूह पनि सबै राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्न र शान्तिपूर्ण राजनीति गर्न सहमत भएको छ।

सहमतिको विस्तृत विवरण शुक्रवार  दुई बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा काठमाडौंको राष्ट्रिय सभागृहमा सार्वजनिक गरिनेछ । विस्तृत सहमितमा त्यहीँ हस्ताक्षर हुनेछ। त्यो समारोहलाई प्रधानमन्त्री ओली र नेकपाका महासचिव विप्लवले सम्बोधन गर्ने छन्।  विप्लव नेकपाले आफ्ना कार्यकर्तालाई संम्बोधन कार्यक्रममा उपस्थित हुन निर्देशन दिएको छ। 

सरकार र विप्लव नेकपाबीचको सहमति पछि मुलुकमा विद्रोही शक्ति अब शान्तिपूर्ण राजनीतिमा आउने अपेक्षा गरिएको छ।  यस अघि सिके राउतलाई पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याएको थियो।  

प्रकाशित:
2021/03/05, 7:23