अब एमाले ब्युँताएर छिट्टै केन्द्रीय समिति बैठक बोलाउँछुः प्रधानमन्त्री ओली

kp oli
सुदूर प्रेस संवाददाता

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले अब साबिकको नेकपा एमाले ब्युँताउने बताएका छन्। आइतबार साँझ संसदीय दलको बैठकमा बोल्दै ओलीले सर्वोच्चका दुवै फैसला आफूहरूको विपरीत भएको भन्दै उनले साबिकको नेकपा एमाले ब्युँताएर छिट्टै केन्द्रीय समिति बैठक बोलाइने बताए।


प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको बैठकमा बोल्दै ओलीले सर्वोच्चले पार्टी एकताको भावना र मर्मविपरीत फैसला गरेको बताए। ‘सर्वोच्चका दुवै फैसला हाम्रा लागि सुखद रहेनन्। तर पनि अदालतको फैसला स्वीकारेर अगाडि बढ्छौं,’ उनले भने।

सर्वोच्च अदालतको फैसला आफूले जहिले पनि स्वीकार गरेको भन्दै उनले पार्टी एकीकरण बदर सम्बन्धमा आज आएको फैसला पनि स्वीकार गर्ने बताएका हुन्।

उनले सरकारमा सामेल कुनै राजनीतिक दलले समर्थन फिर्ता लिए पनि बहुमत पुर्‍याउने बताए। यदि पुगेन भने पनि जिम्मेवार प्रतिपक्षी भएर भूमिका निर्वाह गर्ने उनको जिकिर थियो।


प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको ध्यानाकर्षण गराउँदै ओलीले भने, ‘कसैले सरकारको समर्थन फिर्ता लिए म ३० दिनभित्रै विश्वासको मत लिन्छु। नभए इमान्दार प्रतिपक्षी भएर बस्नेछु।’

बैठकमा नेकपा बनिसकेपछि राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहका उपचुनावमा निर्वाचित भएकाहरूका सम्बन्धमा उठेका प्रश्नको जवाफमा उनले यसबारे कुनै कानुनी व्यवस्था गर्नुपर्छ भने पनि गरेर समाधान गर्ने बताए।

सभामुखप्रति आक्रोशित बनेका ओलीले संसदीय दलको बैठकमा सम्बोधन गर्दै सभामुखलाई संसद कसरी चलाउने भन्ने  आफूले सिकाउने बताए।

संसदीय परम्परानुसार प्रतिनिधिसभाको आजको बैठक अगाडि नबढेको भन्दै उनी सभामुखमाथि असन्तुष्टि पोखेको राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले जानकारी दिए। 


'हतास मानसिकतामा रहेर सभामुखले कसरी संसद् चलाउन सक्नुहोला! अब म सिकाउँछु उहाँलाई संसद् चलाउन, तर यस्तो स्थिति नल्याउन उहाँ आफैंले स्वीकार गरेर अघि बढ्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले सेतोपाटीलाई जानकारी दिए।

बैठकपछि नेता भट्टराईले भने, ‘संसद्को बैठक बस्नुअगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र सरकारसँग परामर्श गरेर गर्नुपर्नेमा त्यसो नगरिएकामा प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभएको छ।’

प्रकाशित:
2021/03/08, 5:52