धनगढी–धनगढी बिशालनगरको एक होटेलमा श्रीमान् सँगै बसेकी श्रीमतीको संकासपद मृत्यु भएको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी अन्दाजी २८ बर्षकी कमला रोकाया धनगढी बिशालनगरमा रहेको सोराइ होटेलमा मृत अवस्थामा फेला परेकी हुन । उनी श्रीमान् सुजन रोकाया सँग चैत १ गते देखि होटेलमा बस्दै आएकी थिइन । सुजन भने फागुन २७ गते बाट नै होटेलमा बसेका हुन । हिजो राती करिब १० बजे दुवै जना बाहिरबाट होटेलमा पुगेका थिए । दुवै जनाले होटेलमा केही खाएका थिएनन् । मृतकका श्रीमानले मादक पदार्थ सेवन गरेको बुझिएको छ । राती करिब १ बजे श्रीमतीको मृत्यु पछि उनले होटेलको गेटमा पुगेर सुरक्षा गार्ड लाई खबर गरेका थिए । केही छिन पछि होटेल सञ्चालकले अस्पताल लैजान आग्रह गरे पनि उनले प्रहरी लाई खबर गर्न आग्रह गरेपछि प्रहरी लाई बोलाइएको थियो । उनको घाँटीमा पासो लगाइएको छ । दुवै जना धनगढीमा घडेरी खरिद गर्न धनगढी आएको आफन्तजनको भनाइ छ । मृतकका १ छोरा र १ छोरी छन्। दुवै जना लाई भारतमा छोडेर उनीहरू नेपाल आएका हुन । प्रहरीले घटना शङ्कास्पद भनेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शब अहिले पोस्ट मार्टुमका लागी अस्पताल लैजाने तयारी भइरहेको छ ।
मृतका श्रीमान् सँग घटनास्थल बाहिर बयान लिँदै प्रहरी