ओलीले आफ्नो गुटमा तान्‍न जनप्रतिनिधिलाई धम्क्याउन थाले– रावल

Bhim rawal
सुदूर प्रेस संवाददाता

धनगढी–नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउन थालेको बताएका छन्। ओलीले आफ्नो गुटमा नआए पद खोस्ने भन्दै धम्की दिन थालेको रावलको आरोप छ।

आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै रावलले जनप्रतिनिधिलाई ओलीले गुटमा तान्न धम्क्याउने समेत गरेको आरोप लगाएका हुन्।

‘प्रधानमन्त्रीले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई गुटमा तान्ने प्रयास गर्दैछन्। प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले को जनप्रतिनिधिलाई धम्क्याएको वा तर्साएको भन्नेबारे उनले नाम खुलाएनन्। निर्वाचित प्रतिनिधिको पद प्रधानमन्त्रीले धम्क्याउँदैमा नजाने उनको भनाइ थियो।

उनले भने, ‘पद जाने अवस्था भनेको या त पार्टी छोडेको हुनुपर्यो या देशको हितविपरीत कार्य गरेको ठहर हुनुपर्यो। नेकपा एमालैमा रहेर कानुनबमोजिम काम गरिरहनुभएकै छ भने कसरी पद जान्छ?’

आफूमाथि ओलीले गरेको कारबाही अवैध भएको उनले बताए। ओलीले रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।

‘नवौं महाधिवेशनको निर्देशनविपरीत, विधानविपरीत काम गर्ने ओली आफैँ अवैध हुन्, अवैध मान्छेले गरेको कारबाही वैध हुँदैन,’ उनले भने।

प्रकाशित:
2021/04/12, 7:51