प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी ५ दल सोमबारमात्रै सर्वोच्च जाने

adalat
सुदूर प्रेस संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन् । 

आइतबार नै सर्वोच्च जान तयारी भए पनि सबै कागजात नमिलिसकेकाले सोमबारमात्रै जाने निर्णय भएको नेताहरुले बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ बानेश्वरमा सञ्‍चारकर्मीमाझ भने, 'रिट साँझसम्म तयार हुन्छ । नागरिकतालगायत तयार गर्ने काम भएको छ । सशरीर उपस्थित भएर हामी अदालत जान्छौं । भोलि फस्ट आवरमा हामी अदालत जान्छौं ।'

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा दाबी प्रस्तुत गर्दा हस्ताक्षर गरेका १ सय ४९ जना सांसदमा पनि केही थपिएको दाहालले जानकारी दिए ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, 'आज हस्ताक्षर संकलन र नागरिकता संकलन भइसकेको छ । व्यक्तिगत विवरण संकलनको प्रक्रिया लामाे भएकाले भाेलि रिट दर्ता गरिने भइयाे ।'

माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि बहुमत पुगेको भन्दै कागजात पूरा नभएकोले भोलि १० बजेमात्रै अदालत जाने निर्णय भएको जानकारी दिए ।

प्रकाशित:
2021/05/23, 4:31