सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई एमालेले साेध्याे स्पष्टीकरण

mantri mandal
सुदूर प्रेस संवाददाता

धनगढी–पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । 

स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको र प्रदेश कमिटीले फिर्ता हुन निर्देशन दिइसकेको अवस्थामा निर्णय विपरीत गइ मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति लिएकाले स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए कारबाही हुने पार्टीका प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले बताउनुभयो । 

बिहीवार मात्र मन्त्री बन्नुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

अध्यक्ष थापाका अनुसार बिहीवार नै राज्यमन्त्रीको शपथ लिनुभएका चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको छ । प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ । 

यसअघि सरकारबाट फिर्ता नभएको र स्थायी कमिटीको निर्णय विपरीत निर्णय गरेको भन्दै प्रदेश कमिटीले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गर्दै केन्द्रीय कमिटीलाई पठाइसकेको छ । 

प्रकाशित:
2021/05/29, 4:32