काँग्रेस अधिवेशन साउन १२ देखि सुरु हुने

Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ–  नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्तावलाई संशोधन गरि बिहीबार बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशन साउन १२ गतेका लागि तय गरेको हो ।  काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएको हो । भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन १२ गतेबाट वडा अधिवेशन गरिने छ ।


 गाउँ र नगरपालिका अधिवेशन साउन १६ गते हुनेछ । प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यस्तै काँग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २३ गते गर्ने गरी कार्यतालिका बनाएको छ ।


एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको जिल्ला अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाहरुको अधिवेशन पनि साउन २६ मै हुने छन् । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २६ गते हुनेछ । प्रदेश समितिहरूको अधिवेशन  भने २०७८ भदौ १ र २ गते हुनेछ ।


महाधिवेशन गर्नका लागि काँग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउन चुनौती रहेको छ । क्रियाशील सदस्यता छानबिनका लागि असार २० सम्म म्याद दिए पनि समितिले असार मसान्तसम्मको समय माग गरेको छ । असार मसान्त पार्टी सभापतिले निर्वाचन समितिलाई बुझाउन समय केही पछाडि सार्न समितिको  सुझाव छ ।

हालसम्म ८ लाख ३ हजार क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छ । अझै १६ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यको डेटा इन्ट्री भएको छैन । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समयमै टुङ्ग्याइने बताए । उनले छानबिन समितिका कारण महाधिवेशन नरोकिने र कुनै पनि हालतमा प्रभावित हुन नदिने बताए ।

उनले असार ६ गतेसम्म क्रियाशील सदस्यताउपर उजुरी आह्वान गरिएको भन्दै मापदण्ड अनुसार सबै जिल्ला र क्षेत्रको सदस्यता टुंगो लाग्ने बताए । ‘सदस्यता छानबिन समितिले मापदण्ड बनाएको छ । त्यही मापदण्डका आधारमा सदस्यतासम्बन्धी विवाद टुंग्याउँछौं’, लेखकले भने । लेखकले सदस्यताका कारण पार्टीको आसन्न महाधिवेशन नरोकिने स्पष्ट पारे ।

प्रकाशित:
2021/06/18, 7:06